राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

काठमाडौं, ३० पुस । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचनको प्रचार प्रसारको क्रममा खर्च गर्न पाउने अधिकतम सीमा तोकेको छ । आइतबार बसेको आयोगको बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार-प्रसारका लागि साढे तीन लाख भन्दा बढी खर्च गर्न नपाउने निर्णय गरेको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ६४ बमोजिम निर्वाचन खर्चको अधिकतम हद तीन लाख ५० हजार तोक्ने निर्णय गरेको हो ।

यसभित्र मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, निर्वाचन प्रचार प्रसार सामाग्री, छापा एवं विद्युतीय प्रचार-प्रसार देखी गोष्ठी तथा अन्तरक्रियासम्म पर्ने आयोगले जनाएको छ ।

यसैगरी, आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

यस्तै, आयोगको आजै बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना २०७४ माघ ३ गतेसम्ममा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा पठाइसक्नु हुन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढाकालले जानकारी दिए ।