काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गृहमन्त्रालयले कारबाही गरेको छ । पुनले सरकारबाट दिइएको विभूषण लिलामीमा राखेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । त्यस लगतै सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै मन्त्रालयले पत्र काटेको थियो ।
गृह मन्त्रालयले विभूषण लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । पुनले दिएको जानकारी अनुसार मन्त्रालयले उनलाई आजनै सिंहदरबार बोलाएर कारबाहि गरेको हो ।
‘कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ ।
महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गर्नुभएको थियो ।
साथै, पुनले अब अन्तराष्ट्रिय मेडल बेच्ने घोषणा गरेका छन् । ‘अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ । त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन् । त्यसैले मेडलहरु किन्न चाहनेले सम्पर्क गर्नु होला,’ उनले लेखेका छन् ।