यु–१६ युथ लिगः विवादकाबीच भएनन् आजका खेल | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

यु–१६ युथ लिगः विवादकाबीच भएनन् आजका खेल

काठमाडौं । नेपालको फुटबल र विवाद ? आजकाल यो दुई शब्द नै पर्यायवाची हुन् की भन्ने आम नेपाली फुटबल प्रेमीलाई लाग्न थालिसकेको छ । नलाग्नु पनि किन ? नेपाली फुटबलको विकास गर्ने उद्देश्यअनुरूप नै बनेको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विवाद नै विवादमा घेरिरहन्छ । नेपाली फुटबल कुनै न कुनै घटनाले विवादमा नपरेको महिना नै हुँदैन ?

कहिले एन्फाभित्रको आन्तरिक द्वन्द्व त, कहिले खेल भित्रकै विवाद । यी सबै कुराले नेपाली फुटबललाई पिरोलिरहन्छ । महिला वा पुरुषको खेल नहुँदा होस् वा सञ्चालन भइरहँदा पनि त्यो कुनै न कुनै किसिमले विवादमा तानिन्छ । पहिलो पटक शुरु भएको एन्फा यु–१६ युथ लिग पनि त्यसबाट अछुतो रहन सकेन । गत हप्तादेखि नै शुरु भएको युथ लिगको दोस्रो चरणकै खेल जारी रहँदा सहभागी १० क्लवमध्ये चार क्लवले नै शनिवारका खेल बहिस्कार गरेपछि नयाँ विवाद सिर्जना भएको हो ।

कुल १० टोलीले प्रतिष्पर्धा गरेको लिग आगामी ६ महिनासम्म चलाउने योजनासहित एन्फाले शुरु गरेको हो । तर, शुरु भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेण्ड्स र एनआरटी गरी चार क्लवले लिग नखेल्ने घोषणा गरेका छन् । जसको कारण शनिवार तय भएका खेल नै हुन सकेनन् ।

शनिवार मनाङले मच्छिन्द्रसँग, फ्रेण्ड्सले त्रिभुवन आर्मी क्लवसँग र एनआरटीले एफसी खुमलटारसँग खेल्ने तालिका थियो । यद्यपि, एन्फाले आफूहरूको माग सुनुवाई नगरेको भन्दै यी क्लवले खेल नै बहिष्कार गरे । एनआरटीले १६ वर्षभन्दा माथिका खेलाडी खेलाएको भन्दै एन्फाले कारबाही गरेपछि विवाद उत्पन्न भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताउनु भयो । उहाँले विवाद उत्पन्न भएपछि समाधानको प्रयास गरिए पनि क्लवका कारण सम्भव नभएको दाबी गर्नुभयो ।

मनाङसँगको खेलका लागि मच्छिन्द्रका खेलाडी शनिवार च्यासल पुगेका थिए । प्रतिद्वन्द्वी नआएपछि उनीहरू कहिले मैदानमा त कहिले प्यारापिटमा डुलिरहेको देख्न सकिन्छ ।

अर्को खेलमा आर्मीका खेलाडीले पनि फ्रेण्ड्ससँगको खेलका लागि लगनखेल मैदानमा विपक्षी टोलीकको प्रतिक्षा गरे भने खुमलाटारले पनि एनआरटीलाई च्यासल मैदानमा पर्खिरह्यो । यद्यपि, प्रतिद्वन्द्वी नआएपछि मच्छिन्द्र, आर्मी र खुमलाटारले दोस्रो चरणको खेल नै नखेली अंक पाए । एन्फाका प्रवक्ता शाहले पनि फिफाको नियमअनुसार विपक्षी नआएपछि उपस्थिति टोलीले अंक पाएको बताउनु भयो । एन्फा फिफाको नियमअनुसार नै चल्ने प्रवक्ता शाहले जिकिर गर्नुभयो । तर विपक्षी टोलीले फेरि पनि यही घटना दोहो¥याएमा भने के हुने भन्नेबारे उहाँसँग जवाफ थिएन ।

एन्फाले कारबाही स्वरुप एनआरटीलाई १० हजार जरिवाना र खेलाडीको एमआरआई परीक्षणको खर्च पनि क्लवलाई नै व्यहोराएपछि विवाद उत्पन्न भएको हो । एनआरटीले ती खेलाडीहरू १६ वर्षमुनि रहेको आफूसँग प्रमाण हुँदाहुँदै पनि एन्फाले कारबाही गरेको भन्दै बहिष्कार गरेको थियो । त्यसमा बाँकी तीन क्लवले पनि साथ दिएका हुन् । एन्फाले नखेल्ने क्लवहरूलाई कारबाही गर्ने भएपछि विवाद झनै उत्कर्षमा पुग्ने देखिएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले पनि नखेल्ने क्लवलाई फिफाको नियमअनुसार नै कारबाही गर्ने स्पष्ट पारिसक्नुभएको छ । यससँगै १० मध्ये चार क्लवले लिग बहिस्कार गर्ने भएपछि फिफाको सहयोगमा एन्फाले शुरु गरेको युथ लिगको भविष्य नै संकटमा पर्ने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);