काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गर्नुभएको छ ।
साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिवार साँझ इटाली प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि भ्रमण टोलीमा हुनुहुन्छ । प्रधानमन्त्री दाहाललाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरु विमानस्थल पुग्नुभएको थियो ।
उहाँले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्नुहुनेछ ।