कुखुरा बेचेर नुनतेल जोहो | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

कुखुरा बेचेर नुनतेल जोहो

सिन्धुपाल्चोक, साउन ५ गते । सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १ गते मेलम्ची र इन्द्रवतीमा आएको गेग्य्रानसहितको बाढीले यो बस्ती पूर्ण रूपमा विस्थापित बनायो।

त्यसपछि इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँमा करिब ३६ घरधुरीको एकीकृत माझी बस्ती निर्माण भयो। यो माझी बस्तीमा प्रायः आधा उमेर ढल्केका तथा विवाहित महिलाको दैनिकी घरधन्दामै बित्छ। केही ससाना केटाकेटी खेलेर दिन काट्छन् भने धेरै जसो विद्यालय जाने, पढ्ने, लेख्ने गर्छन्।

घरका छोरा मान्छे ज्याला, मजदुरी गर्ने, कोही साहुको खेतबारीमा काम गर्छन्। देशका अन्य गाउँठाउँमा झैँ युवा उमेर समूहका व्यक्ति यो माझी बस्तीमा निकै कम छन्।

“दुई वर्षअघिको बाढीले घरजग्गा, खेतबारी सबै बगायो। जोगाएर राखेको अन्नपात सबै बगायो,” प्रकाश माझीले भन्नुभयो, “बाढीका कारण नदीका माछा पनि लाखापाखा लागे।” पार्वती माझीको दैनिकी पनि एकीकृत माझी बस्तीको घरैमा बित्छ। श्रीमान्ले कमाएर ल्याए खाने, नल्याए के खाने भन्ने चिन्ता उहाँलाई बेलाबखत लाग्ने गरेको छ। दिन कटाउन र थोरै आयआर्जन हुने आशाले १०–१२ वटा कुखुरा पाल्नुभएको छ। उहाँले तिनै कुखुरापालनबाट नुन, तेल र चामलको जोहो गर्ने गरेको बताउनुभयो। उहाँले एउटा कुखुरा दुई हजारदेखि २५ सय रुपियाँसम्ममा बिक्री हुने गरेको बताउनुभयो। महिनामा दुई, चार वटा कुखुरा बिक्री हुन्छन्।

“दोस्रो विवाह भएकाले आमा समूहलगायतका समूहमा बस्न नमिल्ने भयो,” उहाँले भन्नुभयो, “दुई विवाह भएकाले समूहमा बस्न मिल्दैन भनेका छन्। पहिला त आमा समूह, साना किसान समूहमा बसेका थियौँ। यता बस्न मिल्दैन भन्छन्।” सानोमा विद्यालय पढ्न पाउनुभएन, उहाँका श्रीमान् आयस्रोतका लागि डन्डी बोक्ने, गाह्रो लाउने मिस्त्री मजदुरी गर्नुहुन्छ।

ठुलीकान्छी माझीलाई आफू जन्मेको वर्ष नै थाहा छैन। रोपाइँको समय भयो तर खेतबारी कहीँ पनि छैन। उहाँले भन्नुभयो, “बेँसीको घरजग्गा बाढीले बगायो। दुलहाले यहाँ घर बनाउनुभयो अनि सरेको। काम केही पनि छैन। पाँच वटा कुखुरा, दुई वटा बाख्रा छन्।” उहाँले विद्यालय पढ्नुभएन तर प्रौढ शिक्षा पढेकाले आफ्नो नाम लेख्न भने सक्नु हुन्छ।

ठुलीकान्छी भन्नुहुन्छ, “मेरा बुढा खेत खन्न जानुभएको छ। वृद्ध भत्ता लिनुहुन्छ। तर मेरो उमेर कति वर्षको भन्ने ठ्याक्कै थाहा भएन। म खै कति वर्षकी भएँ। बाउआमाले यति, उति वर्षको भनेर भनेनन्। सानैमा विवाह गर्दिनुभयो थाहा नै भएन। पहिला साटोपाटोमा विवाह गरेको हो। बाउआमाले दिएको ठाउँमै बसेकी छु।” खेतीपाती भइदिएको भए जीवनयापनमा सहज हुने भन्दै फाट्टफुट्ट पशुपालनले नुनतेलको जोहो गर्न सघाएको उहाँले बताउनुभयो। गोरखापत्रबाट

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);