काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयबाट राजनीतिक दलका भ्रातृ संगठनहरुलाई बन्देज गर्न नसकिने बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयबाट भ्रातृ संगठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानूनी प्रावधानले नदिने भएपनि निश्चित किसिमको आचारसंहीतामा बाँध्न सकिने बताउनु भयो ।
उहाँले विद्यार्थी युनियनहरु के गर्न पाउने, के नपाउने ? भन्नेकुरा कानूनमा नै सो आचारसंहीता तय गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यलाई रोक्न राजनीतिक दलहरुले पनि आफ्ना भ्रातृ संगठनहरुलाई सचेत गराउनुपर्ने र सरकारले पनि आचारसंहीता लागू गर्नुपर्ने बताउनु भयो ।
मन्त्री राईले विद्यालय शिक्षा ऐन प्रक्रियामा रहेको र प्रक्रियामा समस्या भएका कारण ढिलाइ भइरहेको बताउनु भयो । उहाँले प्रक्रियामा समस्या भएका कारण यही हप्ताभित्र आउने भनिएको विद्यालय शिक्षा ऐन संसदमा आउन नसकेको बताउनु भयो ।