काठमाडौं । लगातार पानी पर्न थालेपछि पछिल्लो समय डेंगु सङ्क्रमण बढेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न नसक्दा डेंगु सङ्क्रमण बढेको हो ।
पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको महनशाखाको भनाइ छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु सङ्क्रमण हुन्छ । एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ ।
कोशी प्रदेशमा एक हजार ७४६, बागमती प्रदेशमा ४६८, सुदूरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा २६९, लुम्बिनी प्रदेशमा १३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा सङ्क्रमण देखिएको छ ।
नयाँ बिरामीमध्ये ८२ प्रतिशत १० जिल्लाका रहेको विभागको तथ्यांक छ । सबैभन्दा बढी सुनसरीमा एक हजार पाँच सय ७१, धादिङमा दुई सय ५६, दार्चुलामा एक सय ८८, कास्कीमा एक सय ४९, सङ्खुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना डेङ्गुका बिरामी भेटिएका छन् ।