चितवन,२८ पुष । चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् ।
दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो । जाडोबाट जोगिन अँगेनाछेउमा सुत्दा खुइली पोलिएकी हुन् । आगोले पोलेपछि कपाल डढेको थियो । टाउको खुइलो भएका कारण उनको नाम नै खुइली रह्यो । दाहिने हातको औंलाले खासै काम गर्दैन, देब्रे हातको कुमदेखि पाखुरासम्म पोलेको छ । ‘आगोछेउ सुत्दा राति अँगेनामा परी’, श्यामले भने, ‘लुगा ओढ्न नपाउँदा जाडो छल्न अगेनामा सुत्नुपर्छ ।’ आगोले पोलेपछि पनि खुइलीले उपचार पाइनन् । श्यामले बाख्राको बड्कौला पिनेर लगाए ।
थाप्राङकै विष्णु चेपाङले आफ्नो छोराको नाम गौखुट्टे राखेका छन् । आगोले पोलेर खुट्टामा असर गरेपछि गाईको जस्तो खुट्टा भएकाले ‘गौखुट्टे’ नाम राखेको विष्णुले बताए । आफ्नो बुवाको घरमा गफ गरेर बस्दा गौखुट्टे अँगेनामा परेका हुन् । उनको दुवै खुट्टाको पैतला डढेको छ । आगोको छेवैमा भएको छोरा पोलिँदा सँगै रहेकी आमा निदाएकीले थाहा पाइनन् । छोरो चिच्याएपछि विष्णुले तानेर जोगाए । ‘म अलि टाढा भएको भए कोइला बन्थ्यो होला’, उनले भने ।
एक महिना भरतपुर अस्पतालमा उपचार गराएपछि ठीक भयो तर शरीरका विभिन्न भागमा आगोले पोलेको डाम बाँकी नै छ । जन्मेको केही महिनामै आगोले पोलेपछि उनको पिसाब नै बन्द भएको थियो । शरीरका विभिन्न भाग पोलिएको छ । ‘खुट्टा राम्रो भए त राम्रै नाम राख्न हुन्थ्यो नि’, विष्णुले भने, ‘यसको भाग्य नै यस्तै रै’छ के भन्नु
चेपाङ बालबालिका जाडो छल्न अँगेनामा सुत्ने बाध्यताको सिकार बन्ने गरेका छन् । सानुमाया चेपाङको छोरालाई पनि आगोले पाल्यो । आगोले पोलेर दुवै खुट्टाको औंला नै डढेको छ । निदाएको बेला छोरो आगोमा परेको सानुमायाले बताइन् । पोलेको पीडाले कराएको धेरै बेरपछि थाहा पाउँदा खुट्टा जलिसकेको थियो । घर साँघुरो भएकाले अँगेनाछेउमा सुत्दा आगोले पोलेको उनले बताइन् । दुई छोरामध्ये जेठो जीवनलाई आगोले पोलेको हो । ‘अँगेनाछेउमा सुत्दा आगोमा परेको हो’, उनले भनिन्, ‘छोरालाई आगोले पोलेपछि आगोछेउमा सुत्नै छाडेँ ।’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।