जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय माग गर्दै संसद बैठक अवरोध | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय माग गर्दै संसद बैठक अवरोध

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय सच्याउन माग गर्दै संसद बैठक अवरोध गरेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अवरोध गरेको हो ।

बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजीएको भन्दै यस्तो नियन्त्रण कदापी स्वीकार्य नहुने बताउनु भयो । उहाँले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो । उहाँले निर्णय नसच्याएसम्म संसदको कारबाही अगाडी बढ्न नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘लोकतन्त्रको लागि निर्वाचन असाध्यै महत्वपूर्ण छ । हाम्रो जस्तो हुर्कंदै गरेको लोकतन्त्रलाई यसरी विभिन्न नियम र विभिन्न सरकारको मनोमानीले लोकतन्त्रमाथि यो नियन्त्रण हामीलाई कदापी स्वीकार्य छैन । तसर्थ आज हामी सभामुखमार्फत यो संसदमा अर्थमन्त्रीले जुन निर्णय सरकारले गरेको छ, बजेटमा सरकारले जे ल्याएको छ । त्यो फिर्ता लेओस् र त्यो गल्तीलाई तत्काल स्वीकारोस् । अन्यथा हामी यो सदनको कारबाही अगाडी बढ्न नदिन बाध्य हुनेछौँ । म सभामुखलाई लोकतन्त्रमाथिको यो खतरा, व्यवस्था माथिको यो षड्यन्त्र र नयाँ राजनीतिक पार्टीहरु माथि बनिबनाउ रुपमा गरिएको यो षड्यन्त्रको घोर भत्र्सना गर्न र अर्थमन्त्रीलाई तत्काल रुलिङ गरेर यो फिर्ता लिइदिनु हुन अनुरोध गर्न चाहन्छु ।’

उहाँले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर व्यवस्था र नयाँ राजनीतिक पार्टीहरुमाथि षड्यन्त्र गरिएको बताउनु भयो । उहाँले अर्थमन्त्रीलाई सो निर्णय फिर्ता लिन तत्काल रुलिङ गर्न सभामुख समक्ष आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);