काठमाडौं । टीकापुर कैलाली ८ का वीरेन्द्र जैसी दुई दिनदेखि माइतीघर मण्डलामा न्यायको माग राख्दै अनशन बसिरहेका छन् ।
२०७३ सालमा प्रहरीको गोली लागेर उनी घाइते भएका थिए । २०७३ साल फागुनको महिना राति करिब ९ बजे गस्तीका रहेका प्रहरी अधिकारीहरुलाई काठ तस्करीले कुट्न थालेपछि उनीहरुलाई बचाउन गएका जैसीमाथि प्रहरीको गोली लागेको थियो । रातको समयमा प्रहरीले तस्कर सम्झेर जैसीमाथि गोली चलाएको थियो ।
प्रहरीले चलाएको गोली वीरेन्द्रको पेटमा लागेको थियो । गोली लागेपछि टीकापुर र कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाई टिचिङ अस्पताल ल्याएर अपरेसन गरिएको थियो । बिना कुनै कसुर प्रहरीको गोली खेपेका उनलाई हालसम्म पनि सरकारी निकायबाटै कुनै सहयोग गरिएको छैन् ।
गोली लागेको ७ वर्ष बितिसक्यो, समय बित्दै गर्दा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । गोली लागेको ठाउँमा सहन नसक्ने गरि दुख्ने उनी बताउँछन्।
घटना पछि उनी पटकपटक सरकारको ढोका ढकढकाउन पुगे । तर, सरकारले नसुनेझै गरेको उनको गुनाँसो छ । उपचारमा १० लाख भन्दा बढी खर्च गरिसकेका जैसीलाई सरकारले उपचार खर्च दिलाउने आश्वासन त दियो तर, अहिलेसम्म एक रुपैयाँ पनि दिएको छैन् । ‘तत्कालिन आईजीपी सर्वेन्द्र खनालले जागिर दिलाउछु भन्नुभएको थियो । तर, त्यो पनि पुरा भएन्,’ उनले सुनाए ।
पटकपटकको अनुरोध सरकारले नसुनेपछि जैसी अहिले माइतीघरमा अनसन बस्न बाध्य भएका छन् । सरकारसँग उनको दुईवटा माग छन्– आफ्नो उपचार खर्च दिलाइदिन र आफू बाँच्ने वातावरण बनाइदिन ।