काठमाडौं, ३२ जेठ । अल्पमतमा परेको कोसी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । प्रदेशले संसद्को चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट आज बजेट ल्याउने तयारी गरेको हो । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको प्रदेश सरकारले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।
एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेकोप्रति प्रदेशसभाका चार दलले विरोध जनाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको चर्को विरोध गरेका हुन् ।
गत साता एमाले नेतृत्वको कोसी प्रदेश सरकारबाट माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता दिँदै सरकारबाट बाहिरिएपछि समस्या आएको छ ।
प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका एक प्रदेशसभा सदस्य छन् । त्रियानब्बे सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ । एमालेलाई समर्थन गरेका नेकपा माओवादी १३ र जसपाका १ सांसदले समर्थन फिर्ता लिएपछि १ सिटले उक्त सरकार अल्पमतमा परेको हो ।