एजेन्सी, ३० जेठ । सुटकेसमा आमाको शव राखेर एउटी महिला प्रहरी चौकी पुगेकी छिन् । बैंगलोरमा ३९ वर्षीया फिजियोथेरापिस्टले आफ्नी आमाको हत्या गरेर चौकी पुुगेकी थिइन् । हत्यापछि शवलाई सुटकेसमा हालेर प्रहरी चौकी पुगेर आफ्नो अपराध स्वीकार गरेको प्रह्रीले जनाएको छ ।
प्रहरीले महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ । महिलाको आमासँग बारम्बार झगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ । यसबाट दिक्क भएर उनले अपराध गरेकी हुन् ।
आरोपित महिलाको पहिचान सेनाली सेनका रुपमा भएको छ । उनी पश्चिम बंगालकी हुन् । हाल बैंगलोरको फ्ल्याटमा श्रीमान् र सासुसँग बस्छिन् । सोमबार उनी सुटकेस लिएर मिको लेआउट प्रहरी चौकी पुगिन् । उनले आमाको शव रहेको प्रहरीलाई बताइन् । त्यसपछि धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरेर उनलाई पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार घटनाको समयमा श्रीमान् घरमा थिएनन् । सासू अर्को कोठामा थिइन् । तर, बुहारीले आमाको हत्या गरेको थाहा पाएनन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




