काठमाडौं, २९ जेठ । अब लेबर काम गर्न जाने नेपालीहरुले पनि साउदी अरब जान शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन पर्ने भएको छ । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रुपमा चिनिएको साउदी अरबले यस्तो निर्णय गरेको हो ।
नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित साउदी दुतावासबाट प्रमाणित भएको शैक्षिक प्रमाण पेश गरेमा मात्र भिसा जारी हुने जनाइएको छ । साउदीले खोजेको जस्तो शैक्षिक योग्यता नपुगे सोमबारदेखि नै भिसा नदिने दुतावासले जनाएको छ । अब साउदी अरबले गरेको झन्झटिलो कामले नेपालीहरु मारमा पर्ने देखिएको छ ।
आवश्यक शैक्षिक प्रमाणपत्र जुटाउन नसक्ने कामदारहरु अब लेबर काम गर्न पनि साउदी जान पाउनेछैनन् । गत वर्ष साउदीमा १ लाख २५ हजार २३७ नेपाली गएका थिए । साउदीसहित खाडी मुलुकमा जाने अदक्ष कामदारको संख्या नेपालमा धेरै छ । वैदेशिक रोजगार विभागका अनुसार खाडीमै निर्माण क्षेत्रमा काम सिकेर दक्ष हैसियतमा पुगेकाहरुसँग समेत शैक्षिक योग्यता छैन् ।
अहिलेसम्म अरबी भाषा र काममा दक्ष भए पुग्ने थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबले शैक्षिक योग्यताको प्रमाणपत्र मागेको भन्दै भिसाको लागि आवेदन दिने काम बन्द गर्न आग्रह गरेको छ । व्यवसायी संघले साउदी सरकारले यो निर्णय सच्चाउनुपर्ने अडान लिदै समस्या हल नगरेसम्म भिसाका लागि आवेदन नदिने बताएको छ ।




