काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताउनुभएको छ ।
शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताउनु भयो । उहाँले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने काँग्रेसले कुनैपनि पार्टीको चुनौतिलाई सहनु नपर्ने बताउनु भयो । उहाँले काँग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौति सामना गर्नु पर्नेछैन । बाँकी समय केन्द्रिय कार्यसमिति, पार्टी सभापतिज्युले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली काँग्रेस आउने दिनको चुनौति सशक्त रुपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ । पार्टी लामो इतिहास भएको पार्टी हो । काँग्रेस पार्टीको जस्तो विचारधारा अरु कुन पार्टीको छ र ? तर चल्दा तलमाथि भइरहन्छ । हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ ।’
नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरुबीच समन्वय हुन आवश्यक देखिएको बताउनु भयो ।