संकटामाथि पुलिसले रोमाञ्चक जित निकाल्दा मनाङ हिमालयन शेर्पासँग रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संकटामाथि पुलिसले रोमाञ्चक जित निकाल्दा मनाङ हिमालयन शेर्पासँग रोकियो

काठमाडौं । रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको नेपाल पुलिसले शुक्रवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवलाई पराजित गर्दै रेलिगेशन क्षेत्र छाड्दा अर्को खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली पुलिसले संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै रेलिगेशन क्षेत्र छाडेको हो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा पुलिसले दोस्रो हाफमा गोल गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पलिसलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडीले गर्दा संकटा निशान खड्काले फ्रिकिकमार्फत गोल गरेका थिए । पुलिसका मोजेस ग्याबा र मोहमद आशिकले गोल गर्न सफल भएका थिए ।

शुक्रवारको जितसँगै पुलिसले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको छ । स्पष्ट तीन अंक पछि पुलिसले १७ खेलबाट १९ अंक बनाउँदै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । अहिले सम्म पुलिसले ५ जित, ४ बराबरी र ८ हार भोगेको छ । उता पराजित संकटा १७ खेलमा ५ जित, ५ बराबरी र ७ हारसहित २० अंकका साथ दशौं स्थानमा छ ।

रेलिगेशन बच्न संघर्ष गरिरहेको पुलिसले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रको दायाँ भागबाट हिजाजीले दिएको क्रसमा मोजेसले हेडरमार्फत गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए । पछि परेसँगै दबाब झेल्दै खेलेको संकटाले २४ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । निशान खड्काले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको फ्रिकिकले गोलको दिशा लिएको थियो । त्यसपछिको पहिलो हाफको बाँकी समयमा संकटाले खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन । दोस्रो हाफमा आक्रामक रणनीतिका साथ खेलेको पुलिसले ७९ औं मिनेटमा पुनः अग्रता लियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आशिकले पेनाल्टी बक्सभित्र अलमलमा परेको बललाई गोलको दिशा दिँदै पुुलिसलाई पुनः अग्रता दिलाउन सफल भएका थिए । पहिलो प्रहार पोस्टमा लागेर फकिएको बललाई उनले डिफेन्डर र गोलरक्षकको बीचबाट जाली चुमाउन सफल भएका थिए । इन्जुरी समयमा मोजेसको शक्तिशाली प्रहार संकटाको गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरेका थिए । बाँकी समयमा केही प्रयास भएपनि थप गोल हुन सकेन र पुलिसले स्पष्ट तीन अंक तालिकामा थप्न सफल भयो । यस जितले अब पुलिसलाई रेलिगेशनबाट बच्न मनोबल मिलेको छ । यही लयलाई कायम राख्ने सकेन पुलिस रेलिगेशनबाट बच्ने सम्भावना बढ्दै गएको छ ।

लिग अन्तर्गत शुक्रवारै ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लवले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलो हाफमा भएको नतिजा नै अन्तिम नतिजा बनेको हो । खेलमा मनाङले १४औं मिनेटमा अग्रता लिएको थियो । तर सम्हालिएको प्रदर्शन गर्न नसक्दा हिमालयन शेर्पाले अंक खोस्न सफल भएको हो ।
१४औं मिनेटमा मनाङका निरञ्जन धामीले गोल गर्दै अग्रता दिलाएका थिए । तर मनाङको अग्रता धेरै समय टिकेन । ३६औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अबायोनी फाकुन्लेले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । बाँकी समय दुवै टोलीबाट थप गोलका लागि प्रयास गरे पनि दुवै टोली सफल हुन सकेनन् र अंक बाँडे ।

यस बराबरीसँगै मनाङ र हिमालयन शेर्पाले लिग तालिकामा समान २१ अंक बनाएका छन् । समान अंक भएपनि मनाङ साताँै स्थानमा अटाउँदा हिमालयन शेर्पा नवौं स्थानमा यथावत छ ।

लिग अन्तर्गत शनिवार पनि तीन खेल हुनेछ । दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र र थ्री स्टार क्लवबीच च्यासल मैदानमा प्रतिष्पर्धा हुँदा दिनको दोस्रो खेल दोस्रो स्थानको चर्च ब्वाईज युनाईटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लवबीच दशरथ रंगशालामा खेल हुनेछ । यस्तै दिनको अन्तिम खेल दशरथ रंगशालामा साँझ अर्को विभागीय टोली एपिएफले सातदोबाटो युथ क्लवलाई आतिथ्यता गर्नेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);