काठमाडौं, २८ वैशाख । राजनीतिक सक्रियता बढाउँदै लगेका पूर्वराजा ज्ञानेन्द्र शाहले कूटनीतिक सक्रियता पनि बढाएका छन् । उनी यसै हप्ता नेपालगञ्ज हुँदै सडक यात्राबाट लखनऊ पुगेका छन् । त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग बुधवार भेटवार्ता गरे ।
गोरखनाथका योगीसँग शाहवंशको विशेष सम्बन्ध नै छ । नेपाल एकीकरणमा पनि गोरखनाथको निकै ठूलो सहयोग इतिहासमै उल्लेख छ । उत्तर प्रदेशका मुख्यमन्त्री भएका आदित्यनाथ पनि गोरखनाथका मठाधीश नै हुन् ।
आदित्यनाथ नेपालमा राजसंस्थाका पक्षधर हुन् । उनी पदमा नहुँदै नेपालमा राजसंस्था पुनः स्थापित हुनुपर्ने बोलेर गएका थिए काठमाडौंबाट । यसकारण पनि यो भेट अर्थपूर्ण छ ।
नेपालका पूर्वनरेश ज्ञानेन्द्र शाहले रजनीतिसँगै कूटनीतिक सक्रियता बढाएका छन् । पश्चिम नेपालको भ्रमणमा निस्किएका शाह भारत प्रवेश गरेका छन् ।
पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले लखनउमा भेट भएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । भेटमा राजपरिवारका सदस्यहरु समेत सहभागी भएको उल्लेख छ ।
पूर्वराजा शाह नेपालगञ्जबाट लखनऊ गएका थिए । उनी जेठ १ नेपाल फर्कने पूर्वराजाका एक सहयोगीले माउण्टेन टीभीलाई जानकारी दिए । त्यसपछि उनको कर्णालीका विभिन्न जिल्ला जाने कार्यक्रम रहेको छ ।-File Photo