काठमाडौं, २४ वैशाख । संघीय संसदको दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आईतवारबाट शुरु हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताउनु भयो ।
उहाँले आईतवार बस्ने संसदको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको पनि बताउनु भयो । उहाँले निजामति ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताउनु भयो । प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यक्ता नरहेको बताउनु भयो । उहाँले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको बताउनु भयो ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै अब फेरी प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विवाद सुरु भएको छ । केही विदहरुले लिनुपर्छ भनिरहेका छन् भने अर्का थरीले लिनुपर्दैन भनिरहेका छन् ।