काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताउनुभएको हो । जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभइ सरकारी सेवा प्रवाह पारदर्शी बनाउन रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले संघीयताको मर्मअनुरुप सूचनाको हकलाई कार्यान्वयन गर्न कानून पुनरावलोकन आवश्यक रहेको र प्रदेश तथा स्थानीय तहमा तदनुकुल कानून बनाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको टिप्पणी गर्नुभयो । सूचनाको हक सबैले पाउनुपर्ने तथ्यलाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउन सबै सरोकारवाला निकायले जोड दिनुपर्ने सभामुख घिमिरेले उल्लेख गर्नुभयो । उहाँले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने बताउनु भयो ।
सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा बिस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने बताउनु भयो ।