काठमाडौं, १७ वैशाख । काठमाडौंको कपनमा भाडा व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको रहस्यमय हत्यामा सम्लग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पाण्डेको हत्या भएको ९ दिनपछि प्रहरीले हत्यामा सम्लग्न रहेको आरोपमा झापाका स्थानीय विनोद विकलाई पक्राउ गरेको हो ।
कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। उनको शरिरमा चक्कुले काटेको चोटहरु छन् । पाण्डेको हत्यारालाई पक्राउ गर्न दबाब दिँदै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई पक्राउ गर्न नसकेको भन्दै चर्को आलोचना सुरु भएको छ । दोषी पक्राउ गर्न शुक्रबार छानबिन समिति पनि गठन भएको छ ।
हत्यामा सम्लग्न रहेको आरोपमा झापामै पुगेर विकलाई प्रहरीले पक्राउ गरेको हो । राजधानीमा घटना गराएर झापा पुगेर विक बसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनी बाउन्सर रहेको पनि स्रोतले जनाएको छ । यद्यपी यसबारे पुरा विवरण भने प्रहरीले खुलाएको छैन् ।