काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई ‘नयाँ शोषक’कोे संज्ञा दिनु भएको छ ।
बंैक तथा वित्तिय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किरातीको भनाई थियो । होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गर्नु भयो ।
मन्त्री किरातीले पहिले शोषकहरु दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताउनु भयो । उहाँले सहरमा पनि बैंक तथा वित्तिय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराउनु भयो । मन्त्री किरातीले बैंक तथा वित्तिय संस्थाहरुको ब्याँज घटाउन सक्ने अवस्था नरहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनु प¥यो । यसरी आम रुपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ । १२ कक्षा पढेपछि सबै विद्यार्थीहरु विदेश जान्छन । १२ कक्षा पढेपछि विद्यार्थीहरु किन जान्छन विदेश ? पैसा छैन । बैंकलाई लगाई दिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरी उसले पैसा फर्काएर लान्छ । नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर । महंगो ब्याज बोकेर, कम्प्युटर ठोकेर । पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक । अहिले त कम्प्युटर बोकेर पो आउँछ । गाउँगाउँ पुगेको छ वित्तिय संस्थाहरु । आमाहरुलाई राखेर ऋण दिन्छ । विचरा आमालाई छोराछोरीहरुले मोबाईल माग्छ । अनि, जमानी बसेर ऋण लिएर मोबाईल किनिदिन्छ । अर्को महिनादेखि तिर्नुपर्छ आयस्रोत छैन । अर्को महिनादेखि बाख्रा तानिन्छ । गाई तानिन्छ । थाल बोटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ । यो कथा धेरै छ गाउँमा । सहरमा ब्याज छ । घटाउन सक्ने स्थिति पनि छैन ।’
मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिनु भयो ।