काठमाडौं । ‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करण यही वैशाख १५ गते हुने भएको छ ।
‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करणको कार्यक्रम १४ गते काठमाडौंमा र १५ र १६ गते भने इलामको फिक्कलमा सञ्चालन गर्ने भएको हो । सो कार्यक्रमको अवसरमा नेपाली अर्थोडिक्स चियामा लागू हुने टे«साविलिटी प्रणाली को शुरुवातसँगै राष्ट्रिय चिया उद्यमीहरुलाई सम्मान समेत गरिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष डा.विष्णुप्रसाद भट्टराईले बताउनु भयो । उहाँले यस वर्ष गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ भन्ने मुल नारासहित मनाउन लागिएको बताउनु भयो ।
उहाँले आ.व. २०७८/०७९ को तथ्यांक अनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक्टन चिया उत्पादन भएको बताउनु भयो । उहाँले अहिले १५ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमीकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेको बताउनु भयो । गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएकोमा आ.व.२०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिक्टन चिया निर्यात भएको बताउनु भयो । आ.व. २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८२५ मेट्रिक्टन रहेकोमा आ.व. २०७८/०७९ मा बढेर १३ हजार ८८५ मेट्रिक्टन पुगेको पनि बताउनु भयो । उहाँले गत वर्षहरुमा भन्दा चियाको आयात पनि ४० प्रतिशत भन्दा बढीले घटेको बताउनु भयो । नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा समस्या रहेको र मिसावटयुक्त रहेको जस्ता आरोपहरु खेप्नुपरेको भन्दै नेपाली चिया गुणस्तरयुक्त हुँदाहुँदै पनि कम मूल्यमा बेच्नुपर्दा क्षमताअनुसार नाफामुलक बन्न नसकेको गुनासो गर्नुभयो ।
अध्यक्ष भट्टराईले नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधि सम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुँदा नेपालको आफ्नै चियाको जात तथा प्रविधि विकास हुन नसकेको बताउनु भयो ।
उहाँले चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिंचाई पूर्वाधारको अभाव, भन्सार नाकाहरुमा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिनसक्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला नहुनु, न्युन विनियोजित श्रोत/साधन लगायत अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋण लगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको बताउनु भयो । उहाँले बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प नरहेको पनि बताउनु भयो ।