काठमाडौं, १० वैशाख । विभिन्न कारणले रिक्त रहेका प्रतिनिधि सभा सदस्यका लागि आज तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाउन आग्रह गरेको छ ।
आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देशन गरेको जनाएको छ । यस्तै मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबन्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको पनि आयोगको भनाइ छ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, मतदातालाई बाटो छेकी मतदान केन्द्रमा जान नदिने जो कोहीलाई कानूनबमोजिम कारबाही गर्न आयोगले निर्देशन दिएको छ ।