काठमाडौं । वैशाख ८ –सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्य र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधान महत्वपूर्ण योगदान पुग्ने उनले बताइन् ।
सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र विचौलिएर पैसा लिने गरेको आफु पाएको बताउँदै उनले भनिन्,‘त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुनेछ । त्यसले श्रमजीवी पत्रकारहरूको पनि हित हुनेछ ।’
विज्ञापनमा एकद्वारा प्रणाली लागु हुँदै श्रमजीवी पत्रकारले समयमा सेवा सुविधा नपाउने समस्या समाधानमा पनि सहयोग पुग्ने उनको दाबी छ ।
मुलुक संघीयतामा गइसकेकाले संघ, प्रदेश र स्थानीयतहका विज्ञापनलाई कसरी एकद्वार प्रणालीमा लैजान सकिन्छ भन्नेमा केही व्यवहारिक कठिनाइ रहेको मन्त्री शर्माले बताइन् । त्यसलाई व्यवहारिकरुपमा कसरी समाधान गर्न सकिन्छ सुझाउन पनि मन्त्री शर्माले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिलाई आग्रह गरेकी छन् ।
नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीका समस्याप्रति आफु जानकार रहेको बताउँदै मन्त्री शर्माले वैदेशिक रोजगारीमा भएका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिए पनि पत्रकारहरु नसमेटिनु दुःखद भएको बताइन् । पत्रकारिता पेशालाई व्यवस्थित र मर्यादित बनाउन सक्रिय पत्रकारलाई मात्रै पत्रकार महासंघमा समेट्न पनि उनले आग्रह गरिन् । त्यसले पत्रकारहरूको हकहित र सुविधा उपलब्ध गराउन सरकारलाई सहज हुने बताइन् ।
सरकार सञ्चारसंग संबन्धीत विभिन्न कानूनहरू निर्माण गर्ने क्रममा रहेको जनाउँदै शर्माले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्र विरोधी कानून निर्माणको पक्षमा नरहेको जनाइन् । नेपाल ऐन केही संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्ने कानूनी व्यवस्थाको तयारीमा रहेको जानकारी दिइन् । त्यस विषयमा महासंघसँग आवश्यक छलफल र परामर्श गरेर अघि बढ्ने मन्त्री शर्माले बताइन् ।