दीपेश केसीः प्रजाले खाएपछि मात्र खाने राजा महीन्द्र मल्ल । नेपालको इतिहासका प्रजाप्रेमी राजा । १६ औं शताब्दीमा जुन बेला भारतमा मुगल साम्राज्यका बादशाह थिए अकबर त्यही समयमा कान्तिपुरमा महीन्द्र मल्ल राजा थिए । अकबरको साम्राज्य विस्तार भइरहेको थियो । उनले वरपरका राज्यहरुलाई आफ्नो साम्राज्यमा समेटिसकेका थिए । यस्तो शक्तिशाली बादशाहसको साम्राज्यसँग महीन्द्र मल्लले सुमधुर सम्बन्ध बनाउन सके । कूटनीतिक चार्तुयताका साथ सम्बन्ध स्थापित गरी नेपाली मुद्रासँग मुगल साम्राज्यको मुद्रा सटहीको सुनिश्चितता गरे । जसले कान्तिपुरको व्यापार व्यवसाय फष्टायो । महीन्द्र मल्लले जनतालाई सुखसँग राख्न सके । राजाको कर्तव्य जनतालाई सुख, शान्ति, न्याय र सुरक्षा दिनु हो भन्ने मन्त्रलाई आत्मसाथ गरी महीन्द्र मल्ल जनहितमै खटिए । उनका लागि देशका हरेक नागरिक आफ्नै परिवारका सदस्य जस्तै थिए ।
महीन्द्र मल्ल राज्यमा कुनैपनि नागरिकको मृत्यु हुँदा जुठो बार्थे । राज्यका नागरिकप्रति उनमा अगाध स्नेह थियो । जसका कारण प्रजाको मृत्यु सुन्दा र देख्दा छाक छाड्ने संस्कार आफूमा लागू गर्दा कैयौं दिन भोकभोकै हुन्थे । यतिसम्मकी मृत्युको खबर पाएमा खाँदा खाँदैको छाक पनि छाड्थे । यो नै उनको धर्म थियो ।
महीन्द्र मल्ल नागरिक भोकै रहेमा आफूलाई पाप लाग्छ भन्ने विश्वास राख्थे । त्यसैले उनी सबैले खान पाउनुपर्छ भन्ने धारणालाई कार्यान्वयनमा ल्याइछाड्थे । राज्यमा कोही भोकै नपरुन् भनेर प्रशासकहरुलाई खटाउँथे । उनीबारे इतिहासकारहरुले लेखेका छन्ः आफ्ना राज्यका सबै प्रजाले खाए भन्ने समाचार नआएसम्म उनी खाँदैनथे । आफ्ना प्रजाले खान पाए नपाएको कुरा बुझ्नका लागि दिनहुँ राजाले दरबारका कर्मचारीहरुलाई ठाउँ ठाउँमा पठाउँथे । राजा प्रजाले खान पाए नपाएको चित्त बुझाउन दरबारको सबैभन्दा माथिल्लो तल्लाको झ्यालमा बसेर सबैतिर हेर्थे । घर घरको धुरीबाट धुँवा नियाल्थे । जब उनलाई चित्त बुझ्थ्यो तबमात्र खान बस्थे ।
जनतालाई सुखी देख्दा आफू सुखी भएको ठान्थे राजा महीन्द्र मल्ल । उनको जनताप्रतिको अगाध मायाका कारण राज्यको पनि प्रगति भयो । जनता पनि मिहेनती निस्किए । जनताको उल्लेख्य प्रगति भयो । नयाँ नयाँ घरहरु बन्न थाले । कतिपय घरहरु अग्ला बन्नथाले । शहर बाक्लिदै गयो । यसले राजा महीन्द्र मल्ललाई चिन्तामा पा¥यो । विगतमा उनी दरबारको माथिल्लो तल्लाको झ्यालबाट जनताको घर घरमा धुँवा आएको देख्थे । यसरी सबैले खाए नखाएको अनुमान लगाउन सक्थे । तर, घरहरु अग्लो भएपछि र शहर बाक्लिएपछि धुँवा घर घरबाट आए नआएको नियाल्न कठिन भयो । राजामा निकै चिन्ता पर्न थाल्यो ।
राजाको चिन्ता दुर गर्न दरबारका कर्मचारीले जुक्ति निकाले । उनीहरुले कुनै अग्लो भवनको परिकल्पना गरे । जस अनुसार तलेजु भवानीको अग्लो मन्दिर बनाउने निर्णयमा पुगे । महीन्द्र मल्लले निर्णयलाई कार्यान्वयन गर्न आदेश दिए । मन्दिर बनेपछि राजा यसकै माथिल्लो तल्लाबाट राज्यका सबै घरहरु नियाल्न थाले । हरेक दिन उनी घर घरमा धुँवा आए नआएको हेर्थे । यसबाट उनलाई चित्त बुझ्थ्यो । प्रजाले टन्न खाँदा उनलाई असिम आनन्द आउँथ्यो ।
महीन्द्र मल्ल राज्यको समृद्धि कसरी बढाउन सकिन्छ भन्नेमा लाग्थे । समृद्धीको प्रतिकका रुपमा संस्कृति, संस्कार र कला हो भन्ने मान्यता राख्थे । त्यसैले उनको पालामा धेरै कलात्मक मन्दिरहरु बने । त्यतिबेला पाटी पौवाहरुको निकै महत्व थियो । उनले सर्वसाधारणका लागि पाटीपौवा निर्माण गराए । समाज हितमा राज्यको ढुकुटी सदुपयोग गरे ।
महीन्द्र मल्लको देशभक्ति व्यवहारमा देखिन्थ्यो । उनी देशको वस्तु प्रयोग गर्नुपर्छ भन्नेमा जोड दिन्थे । उनी उत्तिकै सृजनशील पनि थिए । उनकै पालामा सर्वप्रथम चाँदीका टक कटाई नेपाली मुद्राको चलनचल्ती पनि भयो । यही मुद्रालाई महीन्द्र मल्ली भनियो पनि । महीन्द्र मल्लले काम गरेर ख्याति कमाए, जनताका लागि त्याग गरेर ख्याति कमाए । जनताको सुखमा आफ्नो सुख देखेकैले समग्र राज्य समृद्ध हुनपुग्यो ।
महीन्द्र मल्लले ई.सं. १५६० देखि १५७४ सम्म शासन गरे । शाही दरबार र ईं.सं. १५६४ मा तलेजु मन्दिर बनाए । जुवा खेल्नेलाई दण्ड दिने व्यवस्था गरेका थिए । महीन्द्र सूर्य मल्लका नाति नरेन्द्र मल्लका छोरा हुन् । प्राचीन नेपाल जर्नलमा उनलाई अस्य पुत्र महीन्द्र मल्ल भनिएको छ । त्यसमा लेखिएको छः यी राजाले आफ्ना दर्बारका उत्तरपट्टि पशुपतिनाथको देवालय बनाई महीन्द्रेश्वर नाम राखी स्थापित गराया ।
दिल्लीका मुगल बादशाहसँग महीन्द्र मल्लले बनाएको सम्बन्ध र लिएको लाभबारे प्राचीन नेपाल जर्नलमा लेखिएको छः दिल्लीका बादशाहकहाँ स्वेत हंस र बाज चढाई बादशाह खुशी गराई महीन्द्र मल्ल राजाका साथ गयाका मोहरसिंह काजीका सल्लाहले आफ्ना नामको छ मासाको टक मागी ल्याई मोहरमा छाप राखी महीन्द्र मल्ली अधेली मोहर नाम चलाई भरमुलुकमा फिंजाया । डा. बलराम अधिकारी नेपालको सरल इतिहासमा लेख्छन्ः एक जोडी राजहाँस र जुम्लातिर पाइने शाहीबाज उपहारस्वरुप दिल्लीका बादशाह समक्ष लगेर मुद्राको टकमरी गरी त्यसको सटही दर कायम गराएका थिए । महीन्द्र मल्ल राजाले ल्यायाकाले महीन्द्रमल्ली, छमाशा छक मारेकाले अघेली, मोहरसिंह काजीका सल्लाहबाट मागेकाले मोहर भन्ने नाम चल्याको सो आजतक नेपाल राज्यमा प्रचलित छ ।
महीन्द्र मल्लले कान्तिपुरमा आएकाहरुलाई घर खेत दिने सम्मको कार्य गरे । उनले खस आर्यहरुलाई कान्तिपुरमा व्यवस्थापन गरेका थिए । नेपालको प्राचीन नेपाल जर्नलमा लेखिएको छः कान्तिपुरमा खसहरुलाई घर खेत बीर्ता दिया । उनले तलेजुको भव्य मन्दिर बनाउनुमा छुट्टै कहानी छ । नेपालको प्राचीन नेपाल जर्नलमा लेखिएको छः राजाले तुलजा देवीको अघिको स्थान भक्तपुर हो भन्ने विचार गरी कान्तिपुरमा पूजा गरी नित्य भक्तपुर गै तुलजा जगाउने मन्त्री जपी दर्शन गरी आउने गर्दा रहछन् । एक दिन तुलजना देवी खुशी भै आज्ञा भएछः हे राजन, राजा रत्न मल्लका पालादेखि नै कान्तिपुरमा बस्याकी छु । तिमीले नित्य कष्ट गरी यहाँ आउनुपर्दैन । तिम्रो मनमती भक्तपुरमा देखिने गरी बहुत उच्चा यन्त्राकार गरी त्यहीं कान्तिपुर राजा रत्न मल्लले मकन स्थापित ग¥याका स्थानमा देवालय बनाऊ भन्ने देवीका आज्ञानुसार राजा खुशी भै कालीगढहरु जम्मा गरी देवालय बनाउने लक्षण बताउन लागेका बखत अकस्मात् श्री इश्वरीका इच्छाले एक सन्यासी रुप प्रकट भै कालीगढहरुकन यन्त्राकार देवालयको लक्षण मन्त्रभेद बताई अंतरधान भैगया । नेपाल सम्वत् ६६९ माघ शुक्ल पञ्चमी सोमबार रेवती नक्षत्रका दिन श्री तुलजा भवानी भ्रमररुपले देवालयमा प्रवेश गरिन् । सम्वत् ६८४ साल, माघ कृष्ण दशमी, सोमबार, अनुराधा नक्षत्रमा तलेजुको देवालय प्रतिष्ठा गराया ।
तलेजुको मन्दिर बनेपछि अग्लो घर बनाउन गरिएको कडाई पनि फुकुवा गरियो । नत्र ठूला घरले दरबारबाट समेत नदेखिने अवस्था भयो भनी राजाले चिन्ता व्यक्त गरी कडाई गरेका थिए । प्राचीन नेपाल जर्नलमा लेखिएको छः त्यस दिन देखि कान्तिपुरमा प्रजाहरुले ठूलो उच्चा गरी घर बनाउन पाया । फेरि यिनैले पशुपतिनाथका आदिका चार नाग बनाई चार मुखमा चढाया । यी नाग बाहुन हुनाले अद्यापि छँदैछन् । फेरि यी राजाले मछीन्द्रनाथ, तुलजा आदि धेरै देवस्थानहरुमा धेरै गुठ पूजा गहना राखी धेरै धर्म कीर्ति गरी शान्त भै गया ।
डा. बलराम अधिकारीले नेपालको सरल इतिहासमा महीन्द्र मल्लबारे लेखेका छन्ः सूर्य मल्लका नाति, नरेन्द्र मल्लका छोरा महीन्द्र मल्ल धर्मात्मा, प्रजाप्रेमी, व्यावसायिक क्रान्तिका प्रतिवादक, शास्त्रनुरागी, कुशल कुटनीतिज्ञ, सुयोग्य र बुद्धिमान राजाका रुपमा प्रशिद्ध छन् । उनले त्यतिबेला दक्षिणतर्फ साम्राज्य खडा गरेका मुगल बादशाहसँग सुमधुर सम्बन्ध स्थापित गरेका थिए । जसका कारण दक्षिणतर्फको साम्राज्यसँग सटही दर समेत कायम गर्न सके । कुटनीतिक चार्तुयताले देशको सुरक्षा मजबुत बनाउन सके । राज्यलाई समृद्ध बनाउने सफलता समेत हासिल गरे । उनको शासनकालमा कान्तिपुरले आर्थिक फड्को मार्न सकेको थिया्े ।
कुनैपनि राज्यको नेतृत्वकर्ताको छवि र खूबीले पनि त्यस राज्यप्रतिको बाह्य दृष्टिकोण बन्नसक्छ । महीन्द्र मल्लको पालामा कान्तिपुर राज्यको प्रसिद्धि निकै बढेको थियो । बाह्य मुलुकहरुको कान्तिपुरलाई समृद्ध र शक्तिशाली राज्यका रुपमा परिचय स्थापित भएको थियो । उनलाई कर्तव्यनिष्ठ, शास्त्रमर्मज्ञ र धर्मपरायण राजाको रुपमा लिइएको छ । महीन्द्र मल्लमा देशभक्तिको भावना अत्याधिक थियो । उनले आफ्ना जनतालाई पनि देशप्रेमको भवना जगाउने गरी महत्वपूर्ण भूमिका निभाए । देशभित्रका गोप्य कुरा कहिले बाह्य मुलुकका व्यक्तिसँग नखोल्नु भन्ने उपदेश दिए । डा. बलराम अधिकारी लेख्छन्ः बिरानो मुलुकमा गई शीप र विद्या सिकेर आउनु तर आफ्नो राज्यको आन्तरिक कुरा कसैलाई नखोल्नु, बरु मारे मर्नु भन्ने उच्च आदर्शबाट तत्कालिन कान्तिपुरका जनताहरु यिनीप्रति निकै प्रभावित थिए । यसबाट पनि उनमा राष्ट्रको सुरक्षाप्रतिको गम्भीरता बुझ्न सकिन्छ ।
राइटले महीन्द्र मल्लले दिल्लीका मुगलसँग सहमति गरेर चाँदीको सिक्का निष्काशन गरेको उल्लेख गरेका छन् । उनले तिरहुतबाट चाँदी लिएर पहाडका साना राज्य देखि तिब्बतसम्म यसको चल्ती चलाए । महीन्द्रमल्ली नामक चाँदीको मुद्रा निष्कासन गरेबाट नेपालको आर्थिक सुधारमा महत्वपूर्ण योगदान मिल्यो । यो मुद्राको दक्षिणतर्फको साम्राज्यसँग विनिमय दर निश्चित गरिएकाले कारोबारहरु बढ्यो । कान्तिपुरका व्यापारी प्रभावशाली भए । तिब्बतमा समेत व्यापार फष्टायो । विलियम प्याट्रिकले महीन्द्र मल्लको राज्यकालमा दक्षिणी साम्राज्यबाट चाँदी आयात गरेर सो चाँदीको टक छापी तिब्बत पठाउने र तिब्बतबाट सुन खरिद गरी दक्षिणतर्फ निर्यात गर्ने हुँदा कान्तिपुरको आर्थिक गति तिव्र रुपमा बढेको थियो । कान्तिपुरले निकै मुनाफा कमाएर समृद्धि हासिल गर्दै बढ्यो । घरेलु उद्योगहरु निकै फष्टाए । स्वदेशी उत्पादनमा उनी निकै जोड दिन्थे । कालीगढहरुलाई प्रोत्साहन गर्थे भने उद्योगका लागि आवश्यक उपकरणमा जोड दिन्थे । डा. बलराम अधिकारी लेख्छन्ः घरबारविहिन जनता र शरणार्थीहरुलाई घरखेत र आवश्यक आर्थिक सहयोग दिएका थिए । यिनको सन् १५६० देखि १५७४ सम्मको १४ वर्षको शासनकालमा गरिबी र बेरोजगारीबाट सारा प्रजाहरु मुक्त भएका थिए ।
महेन्द्र मल्ल न्यायप्रेमी राजा थिए । टोल गाउँको मुद्दामामला गाउँ टोलमै मिलाउन लगाए । यसका लागि हरेक टोलमा परिपक्व थकालीको व्यवस्था गरे । न्याय सम्पादन टोलमै हुने व्यवस्था गरे । न्याय सबैका लागि बराबर थियो । कसैलाई गलत कार्यमा लाग्न दिदैनथिए । जो लाग्थे कारबाहीको भागिदार हुन्थे । जनतालाई कामकाजमा व्यस्त गराएर राज्यलाई आर्थिक र सुरक्षाका दृष्टिले मजबुत बनाउँदै लगे । नैतिक आचरणमा पनि उनको ध्यान केन्द्रित हुन्थ्यो । समुन्नत र सुसंस्कृत राज्य स्थापित गर्ने क्रममा जुवा तास आदि सामाजिक विकृतिहरुमाथि नियन्त्रण गरेका थिए । उनले सबै जनतालाई आफ्नै परिवारका सदस्य मानेर व्यवहार गर्थे । त्यसैले कोही गलत बाटोमा नलागोस् भनेर सजगता अपनाएका थिए । राज्यका कर्मचारीहरु घर घरमा खटिएर जनताको अवस्था बुझ्थे । उद्योगधन्दा, व्यापार, व्यवसायमा के कस्ता समस्या छन् भनी बुझ्न लगाएर समस्या आएमा समाधान गर्न लगाइहाल्थे । क्षमतावान्हरुलाई उनले अन्यत्रबाट झिकाएर भएपनि राज्यको हितमा सक्रिय बनाए । व्यवसायिक र प्राविधिक ज्ञान भएकाहरुलाई अन्य मुलुकबाट भएपनि महीन्द्र मल्लले नै भित्राएका थिए ।
महीन्द्र मल्ल धार्मिक स्वभावका थिए । उनी धार्मिक मूल्य, मान्यता र आदर्शहरुको अनुशरण गर्थे र जनतालाई पनि गर्न लगाउँथे । राज्यको समृद्धि आर्थिक वृद्धिले मात्र नभई धार्मिक मूल्य मान्यताको अनुशरणले पनि हुन्छ भन्ने मान्यता राख्थे । उनको पालामा पार्टीपौवा, देवीदेवताका मन्दिर धेरै बने । कला संस्कृतिको संरक्षण र विकासमा लागिपरे । यिनले महेन्द्रेश्वर महादेवको मन्दिर निर्माण गराए । हनुमानढोका दरबारको प्राङ्गणमा चतुमूर्ति विष्णुको प्रस्तर मूर्ति स्थापना समेत गराए जसलाई हाल जगन्नाथ देवल भनिन्छ । तलेजु मन्दिरलाई भव्य रुप प्रदान गरे । प्रस्तरैप्रस्तरद्वारा निर्मित गुम्बज शैलीको कोटीलिङ्गेश्वर महादेवको मन्दिर बनाउन लगाए । नुवाकोटमा विष्णुमूर्ति प्रतिस्थापन गरी तानादेवलका देवता तम्बालिङ्ग देवलाई सुनको देवल र ध्वजा बनाइ चढाए । यिनकै पालामा कोट्याहुति यज्ञ गरी रामायण नाच देखाउने परम्परा बसेको थियो । यिनका दरसन्तान राजा प्रताप मल्लले कीर्ति समूहले चन्द्रमालाई जितेका, राजनीतिमा सिपालु, शत्रुलाई फकाएर वशमा लिने, आफ्ना वंशका सर्वश्रेष्ठ र पृथ्वीका रत्न भनी प्रशंशा गरेका छन् ।
डिल्लीरमण रेग्मीको पुस्तक मिडेभल नेपाल भाग १ मा महीन्द्र मल्ललाई रत्न मल्लपछि कान्तिपुरका चौंथो राजा भनिएको छ । उनको निधन सन् १५७४ मा भयो । त्यतिबेला भारतमा मुगल बादशाह अकबरको शासन चलिरहेको थियो । यसबाट पनि उनले अकबरको साम्राज्यसम्म बलियो सम्बन्ध बनाएर कान्तिपुरलाई समृद्ध बनाउन योगदान दिए । बलियो साम्राज्यको चुनौतीसामु जोगिन वरपरका राज्यलाई चुनौती थियो । त्यस्तो जटिल समयमा महीन्द्र मल्लले राज्यलाई कूटनीतिक चार्तुयताबाट जोगाएनन् मात्र समृद्ध पनि बताए । अकबरसम्म उनको सम्बन्धबारे भने डिल्लीमरण रेग्मीले मिडेभल नेपालमा स्पष्ट भन्न नसकिने लेखेका छन् । जे होस् त्यतिबेलाको मुगल साम्राज्यसँग सुमधुर सम्बन्ध बनाएकैले महीन्द्र मल्लले उत्तर र दक्षिण दुवैतर्फ कान्तिपुरको व्यापार राम्रो बनाउन सकेका थिए ।
महीन्द्र मल्लले जनताको हितमा आफूलाई समर्पित गरे । उनका दुई छोरा थिए सदासिंह मल्ल र शिव सिंह मल्ल । उनको निधनपछि सदाशिव मल्ल राजा भए । प्रजा पालक राजा महीन्द्र मल्लका छोरा सदासिंह मल्ल भने अलोकप्रीय भए । उनी घोडचढीका सौखिन थिए । घोडा जनताको खेतमा लान्थे । घोडाले आम जनताको खेती बर्बाद पार्थे । यसैमा रमाउँथे । महिलाहरुलाई जर्बजस्ती यौन शोषण गर्थे । जुन राजाले महिलाको उच्च सम्मान गरे त्यही राजाका छोरा महिलाको इज्जत गर्दैनथिए । उनीविरुद्ध जनतामा असन्तुष्टिको आगो भित्र भित्र दन्किइरहेको थियो । एकदिन सुरक्षाकर्मीलाई छलेर सदासिंह मल्ल मनहरी फाँटमा पुगे । खेतमा काम गरिरहेका किसानहरुले असन्तुष्टि देखाइहाले । उनलाई जनताले कुट्न थालेपछि भागेर भक्तपुर पुगे । यही मौकामा शिवसिंह मल्लले सत्ता कब्जा गरे । भक्तपुरमा शरणार्थी जीवन बिताइरहेका सदासिंह मल्लले त्यहाँ पनि महिलामाथि दुव्र्यवहार गरेपछि त्रैलौक्य मल्लले कारागारमा राखे । अहिले त्यो ठाउँलाई शदाशिव चोक भनिन्छ । डिल्ली रमण रेग्मीले मिडेभल नेपाल भाग २ मा शदाशिव मल्लविरुद्ध भारदारहरुले विद्रोह गरेको उल्लेख गरेका छन् । प्रजाप्रेमी राजाका छोरा प्रजामाथि दमन र अपमान गरेबाट सजाय भोग्न पुगे ।