काठमाडौं, ३० चैत्र । ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । सुनसरी धरान उपमहानगरपालिका–१७ घर भएका ३५ वर्षीया जुनुकला राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–७ चावहिल गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालिका संचालक राई समेतले नेपाली कला र सिपबाट विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गराउन लिएको ईजाजतको उल्लङ्घन गरी कम उमेर समूह समेतका युवायुवतीहरुलाई विभिन्न प्रलोभन दखाई सदस्यता लिन लगाएर नेटवर्किङ व्यवसाय सम्बन्धि ३ दिने प्रशिक्षण दिई ५० जनाबाट करिब ५५ लाख २२ हजार ८ सय रूपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।