काठमाडौं, २६ चैत्र । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले झलनाथ खनाल एमालेमै फर्किने दाबी गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टी परित्याग गरि एमालेमा फर्किएका न्यौपानेले सम्मानित नेताको दर्जा दिए खनाल एमालेमै फर्कने तयारी गरेको बताए ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरे । एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको उनले आरोप लगाए । एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाउँदै उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने,जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे ।
उनले सो पार्टीको भविष्य नभएको टिप्पणी गर्दै उक्त पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण हुने धारणा राखे । उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे । उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) ले परिचय दियो तर पहिचान दिन सकेन । सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभाष भएको मलाई लाग्यो, विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भइ वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी माक्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भयो । सांसदको लागि झगडा गर्ने,
सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने, मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रिय समितिको बैठकमा आफ्नो धारणासहति फरक मत राखेको थिएँ । हालसम्म कुनैपनि छलफल नभएकाले त्यहाँ बसिरहन सकिनँ । यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ, भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो ।’
नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गरे ।