राष्ट्रिय जनगणना २०७८ः साक्षरता सँगै विदेशीने पनि बढे | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८०, मंगलबार

राष्ट्रिय जनगणना २०७८ः साक्षरता सँगै विदेशीने पनि बढे

आशिष रेग्मी 
काठमाडौं । तयार भएको तीन महिनापछि नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको तथ्यांकले नेपालको जनसंख्याको बदलिएको अवस्था देखाएको छ । जसले भविष्यमा निकै चुनौतीहरुको सामना गर्नुपर्ने देखाएको छ ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जस अनुसार पुरुष भन्दा महिलाको जनसंख्या ६ लाख ५० हजार बढी देखिएको छ । लैंगिक अनुपातमा प्रत्येक १०० महिला बराबर ९५.५१ प्रतिशत महिला रहेका छन् । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा मात्र कुल संख्याको एक तिहाई छन् । प्रदेशहरुमध्ये वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ । कर्णाली प्रदेशमा सबैभन्दा कम देखिएको छ । भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । उपत्यकाका पालिकाहरुमा १० वर्षमा जनसंख्या दोब्बर भएको छ । जनसंख्या सुगम र राजधानीमा बढी ओइरिएको देखिन्छ । गाउँहरु रित्तिदै गएको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ भने सबैभन्दा कम जनसंख्या मनाङको रहेको छ । काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ रहेको छ । त्यस्तै सबैभन्दा जनसंख्या भएको मनाङ जिल्लामा ५,६५८ मानिसको बसोवास छ ।

पछिल्लो दशकमा नेपालको साक्षरता दरमा केहि बृद्धी देखिएको छ । १० वर्षमा १० दशमलव ४ प्रतिशतले साक्षरता दरमा वृद्धि देखिएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । नेपालको कुल जनसंख्याको १९.५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण रहेको र १९.५ प्रतिशत जनसंख्या कम्तीमा एसईईभन्दा माथिल्लो तह उत्तीर्ण रहेको तथ्यांकमा उल्लेख छ ।

२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । जसमा पूरुष ८२.२ प्रतिशत र महिला १७.८ प्रतिशत रहेका छन् । अझ यसमा देश छोडेर गएका व्यक्तिहरुको गणना गरिएको छैन् । विदेशिनेको संख्या अत्याधिक बढ्दा युवा पलायन ह्वात्तै बढेको छ । यो देशका लागि ठूलै समस्या बन्ने देखिन्छ ।
पछिल्लो दशकमा नेपालमा परिवार संख्या करिब २३ प्रतिशतले वृद्धि भएको छ । तर यही अवधिमा परिवारको आकार भने घट्दो छ । हाल औसतमा एउटा परिवारमा ४ देखि ५ जना रहेको पाइएको छ । संयुक्त परिवारहरु निकै घटेका छन् । परिवार संस्थाको स्वरुप बदलिन थालेको छ ।

रोचक त यो छ कि नेपालमा बसोबास गर्ने कुल परिवारमध्ये ३१ प्रतिशत परिवार महिलाले चलाउने गरेका छन् । यो तथ्यांक १० वर्षअघिको भन्दा ५ प्रतिशतले बढी हो । नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरूमा स्मार्ट मोबाइल फोनमा पहुँचमा देखिएको छ । ३.९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको सुविधा छैन भने ९६.१ प्रतिशत परिवारमा कुनै न कुनै किसिमका उपकरणहरूको पहुँच पुगेको छ । १५ प्रतिशत नेपाली कम्प्युटरको पहुँचमा छन् भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् । सार्वजनिक तथ्यांक अनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने टेलिभिजन ४९.४ प्रतिशतको पहुँचमा रहेको छ ।

पछिल्लो दश वर्षमा दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको छ । नेपालमा अझैपनि ४.५ प्रतिशत परिवार शौचालयको पहुँचबाट टाढा देखिएका छन् । ९५.५ प्रतिशत परिवारले भने कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् । यसैगरि राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा शहरी क्षेत्रमा बसोवास गर्नेको संख्या बढ्दो छ भने गाउँमा बस्नेको संख्या घट्दो छ ।

Leave a Reply