काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्ने उजूरीलाई अस्वीकृत गरेको छ । आज आइतबार निर्वाचन अधिकृत महेश शर्मा पौडेलले यादवविरुद्ध परेका उजुरीहरु खारेज गर्ने निर्णयको जानकारी दिएका छन् ।
उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहाय यादव पुरुष भएको र राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले संविधान अनुसार महिलाबाहेक निर्वाचित नहुने भन्दै नेकपा एमालेका महेश बर्तौला र जनमत पार्टीकी ममता झाले शनिवार छुट्टाछुट्टै उजूरी दर्ता गरेका थिए । उजूरीबारे निर्वाचन अधिकृतले पछिल्लो निर्णय गरेका हुन् ।
यसअघि मनोनयन दर्ताको अघिल्लो दिन शुक्रवार निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर पुरुष उम्मेदवारले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न नपाउने आशयसहितको जानकारी दिएको थियो । त्यसको सत्तारुढ केही दलका नेताहरुले आलोचना गरेका थिए ।
रामसहाय यादव चुनाव जितेको बाराबाट उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । निर्वाचन आयोगले रामसहायको उम्मेदवारी जोगाउने गरी निर्णय गरेपछि उपेन्द्रलाई राहत मिलेको छ ।