महिलाको भूमिका सुदृढ हुँदै गएको छ : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

महिलाको भूमिका सुदृढ हुँदै गएको छ : राष्ट्रपति भण्डारी

loksewa-rastrapati bhandari

काठमाडौं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको बताउनुभएको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको धारणा राख्नुुभएको हो ।

महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको भएपनि महिलाको नेतृत्व विकास‚ अवसरहरूको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।

महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारहरूले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुने उहाँको तर्क छ ।
अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीहरू संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्ने उहाँको विश्वास छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको समेत उहाँले जानकारी गराउनु भएको छ ।

‘यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरहरूमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्न समेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँच मार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ । नव प्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रुपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।’–उहाँले सन्देशमा लेख्नुुभएको छ ।

भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);