काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताउनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री प्रचण्डको यस्तो जवाफ आएको हो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले थाहा पाएको उल्लेख गर्नुभयो । एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री प्रचण्डले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताउनु भयो । मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको भन्दै उहाँले खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सके मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताउनुभयो । मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिन भित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उहाँको भनाई थियो ।