काठमाडौं, १५ फागुन । फिल्म निर्माता छवि ओझाविरुद्ध नायिका शिल्पा पोखरेलले हालेको मुद्दा जितेकी छिन् । मुद्दा जितेसँगै शिल्पाले श्रीमान ओझाको आधा सम्पत्ति पाउने भएकी छिन् । छविको चौथो श्रीमतीको रुपमा भित्रिएकी शिल्पाको छविसँग लामोसमय सम्बन्ध टिक्न सकेन । विवाह गरेको केही समयपछि नै शिल्पा सम्बन्धविच्छेदका लागि अदालत पुगेकी थिइन् ।
शिल्पाले छविसँगै बस्न नसक्ने भन्दै दायर गरेको माना चामलको मुद्दामा आइतबार अदालतले शिल्पाको पक्षमा फैसला गरेको हो । शिल्पासँगको सम्बन्धमा रहँदाको समय छविलाई लागेको आधा ऋणपनि शिल्पाले ब्यहोर्नुपर्ने फैसला भएको छ ।
छविले अहिलेसम्म चारजनासँग विवाह गरिसकेका छन् । छविको दोस्रो श्रीमती गितान्जली सुनुवारले जन्माएको छोरा उनको मृत्युपछि जेठी सासुलाई जिम्मा लगाएका थिए । त्यत्तिबेला आफ्नो छोरा धर्मपुत्रको रुपमा लिखित सम्झौता गरेर जिम्मा लगाएका थिए । धर्मपुत्रलाई अशं छुटउन नमिल्ने गरी अदालतले फैसला सुनाएको छ ।
धर्मपुत्रलाई अंश छुट्टाउन मिलेको भए छविको अंश तीन भाग लाग्ने थियो । तर, अब अंश दुई भाग मात्रै लाग्ने भएको छ । शिल्पाले सामाजिक सञ्जालमा अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छिन् । फैसलाबारे छवि ओझाले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
उनले लेखेकी छिनु, ‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।’