काठमाडौं, १४ पुस । राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रदेशसभाका सांसदहरुको सूचि निर्वाचन आयोगमा बुझाएका छन ।
राजनीतिक दलहरुले शुक्रबार साँझसम्म तोकिएको समयभित्रै समानुपातिकतर्फ प्रदेशसभाका आफ्ना सांसदहरुको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन ।
निर्वाचन आयोगका सहसचिव दिनेशकुमार घिमिरेले दलहरुले बुझाएको प्रदेशसभा समानुपातिक तर्फका सांसदहरुको नामावली प्राप्त भएको र भोलि नै सो नामावली कानुनसम्मत भए, नभएको छानवीन गरी कानुन सम्मत नभए सच्याउन ३ दिनको समय दिने जानकारी दिए ।
संवैधानिक व्यवस्था अनुसार महिला, जनजाति, दलित लगायतका क्लष्टर बमोजिम नामावली नआए दलहरुलाई सच्याउन ३ दिनको समय दिनुपर्ने हुन्छ ।
निर्वाचन आयोगले ४ दिन भित्र प्रदेश सभा समानुपातिकतर्फका सांसदहरु औपचारिक रुपमै विजयी भएको घोषणा हुने जनाएको छ ।
निर्वाचन आयोगले त्यसपछि प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदहरुको सिट संख्या निर्धारण प्रक्रिया अघि बढाउने बताएको छ ।
राजनीतिक दलहरुले आफ्नो दलले पाएको मतको आधारमा समानुपातिकतर्फको सांसद संख्या पाउने कानुनी व्यवस्था छ ।