काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिनुभएको ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेको । राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्ने उपायहरू अवलम्वन गर्न समेत उहाँको निर्देशन छ ।
अमेरिकी आकाशमा हालै देखिएका शङ्कास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे अनुसन्धान गर्न समेत निर्देशन दिनुभएको छ । यसैबीच राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफीङसँग वार्ता गर्ने अपेक्षा गरेको पनि उल्लेख गरिएको छ ।
गत फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दाबी गरेको विशाल बलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दाबी छ । राष्ट्रपति बाइडनले अमेरिकाले आफ्नो आकाशमा देखेका हरेक मौसमी बलुनलाई गोली नहाने पनि ती जासुसीसँग सम्बन्धित छन् वा छैनन् त्यसबारे भने गम्भीर अनुसन्धान गर्ने प्रष्ट पार्नुभएको छ । यदि कुनै वस्तुले अमेरिकी जनताको सुरक्षामा खतरा उत्पन्न गरे त्यसलाई नियन्त्रण गर्न अमेरिका सक्षम हुने पनि दाबी उहाँको छ ।