काठमाडौं, ८ माघ । साहित्यकार क्षितिज मगर कथासंग्रह ‘भेडीकम्बलको प्वाल’सार्वजनिक भएको छ। शनिवार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरुको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे।
जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन्। ‘दर्जनौ लडाईमा हामी सँगै लड्यौं। पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो। अहिले कलम चलाउनुहुन्छ,‘ केसीले भनिन्, ‘दुखी गरिबको पक्षमा कलम चलाइरहनुहोला।’ नेपाली वर्ग संघर्षमा आफूहरु गुमनाम रहेको उल्लेख गर्दै केसी यस्ता पात्रको पक्षमासमेत कलम चलाउन आग्रह गरिन्। नेपाली वर्ग संघर्षमा हामी गुमनाम छौ। हामीलाई पनि समेट्नु होला उनले भनिन्।
साहित्यकार एवं पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै जनयुद्धको शुरुवाती चरणको वृत्तान्त सुनाए। विभासले कथाकार क्षितिजको जन्मको कथा झिक्दै भने, लोककथा सुनाउँदा एकादेशमा धेरै वर्षअघि एउटा पहाड थियो। त्यो पहाडलाई गमागमेरी भन्न थालियो। पछि जलजला भन्न थालियो। पहाडको काखमा एकातिर थवाङ थियो अर्कोतिर जलजला थियो। ती पहाडमा मगरहरु बस्थे। त्यो जुगमा एउटा मर्दै गरेको मान्छे त्यो पहाडमा गयो। त्यसले भन्नथाल्यो। त्यसले दुखको कुरा गर्यो। आँधीको कुरा गर्यो। त्यसपछि पढाउने मास्टरसँग उकालो चढ्यो। ती मास्टरसँग के भन्यो भने म मरे भने मेरो लाश पहाडको फेदमा गाड्दिनु। त्यो देशमा संयोगले आँधी सिर्जना भयो। त्यो आँधी कसरी सिर्जना भयो भने अब काँचुली फेर्नुपर्छ यो ठाउँ यो समाजको काँचुली फेर्नुपर्छ। फ्युडल क्यापिटलिजम यस्तायस्ता कुरा फेर्ने हो। आँधी चलेछ। आँधी चलिसकेपछि त्यहाँका रुख पात अंगप्रत्यंग हल्लिए। हल्लिँदै जाँदा जेलबाङको सानोसानो बड्डो जसको भर्खरै जुँगाका रेखीहरु बस्न थालेका थिए। स्कुलको झोलाहरु फालेर हिँडे। किनकि उसका पनि साना सपनाहरु थिए। हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो उ। धेरै लडे आँधीमा। उ सदस्य हुँदै कमान्डर हुँदै गए। सहयोद्यहरु गुमाए। खुसी गुमाएका पीडाहरु अक्षरमा पोखिन थाले। आँधीको समयमा त्यो बड्डो कवि पनि भएछ। गीतकार पनि भएछ। बड्डो पछि १२ बुँदेमा ब्रेक लागेछ। त्यही बड्डो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ।’
लेखक एकाएक रसातलमा पुगेको प्रसंग भावेसले निकाल्दा क्षितित पटकपटक भावुक बनेका थिए। ‘पछि जीवन एकदम परिवर्तन भयो। श्रीमती छोराछोरी पाल्नैपर्यो। मलाई फोन गरेर भन्नुभयो मेरो बुवा भीरबाट लडेर बित्नुभयो। म पनि रोए। त्यसपछि ज्यामी काम गर्नुभयो। बडीगार्ड बोकेर हिडेको ब्यक्ति रसातलमा पुग्नुभयो। तर अहिले उहाँ सफल कथाकार बन्नुभएको छ,’ भावेसले भने।
त्यसपछिमात्र भावेसले कितामा भएका कथाहरुबारे आफ्नो भनाई राखे। जनयुद्ध अघिका कथाहरु माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ। पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ। कथा पढ्न रोक्नै मन लाग्दैन। त्यहाँभित्रका प्रेमका कुरा छन्। पात्र रोल्पाकै छ। परिवेश त्यतैका। शाही सेनाबाट प्रताडित भएपछि माओवादीमा लागेको कथाहरु छन्। ओहो म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छं भावेसले आफ्नो भनाईको अन्त्यमा भने।
यस कथासंग्रहका भाषासम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरु सशक्त रहेको बताए। ‘कथाहरुमा पात्र सामान्य हुन्छन्। सबै पात्र जिउँदा हुँदैनन्। कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो बनाउनुपर्छ। भेडीकम्बलको प्वालमा १८ कथा छन्। कथा बनोटका आधारमा सबै सशक्त छन्। यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो” प्रधानले भने, “कतै न कतै यसको चर्चा छ नै। जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो। कथाकै रुपमा त यो भेडीकम्बलको प्वाल सशक्त लाग्छ।”