काठमाडौं । नेपाल मगर संघको आयोजनामा माघेसंक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव हुने भएको छ । आगामी पुस २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा हुने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने संघले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले महोत्सवमा मगरहरुको मौलिक, सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल हुने जानकारी दिए । महोत्सवमा धनुष वाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम रहने बताइएको छ । कार्यक्रममा मगर समूदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहने पुनको भनाइ थियो ।
पुस २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मगरहरुको परम्परित खेलहरु क्षलो हान्ने र धनुष वाण लगायत शुभकामना आदानप्रदानको कार्यक्रम रहेको छ भने माघ १ गते बिहान १० बजे भृकुटी मण्डपबाट र्याली निकाल्ने संघले जनाएको छ । महोत्सवमा उपस्थिति भएर मगरको मौलिक, संस्कृति, भेषभुषा, खानपिन, मौलिक खेल लगायतका गतिविधिको अवलोकन गर्न अध्यक्ष पुनले सम्पर्ण देशवासीलाई आग्रह गरेका छन् ।
“यो देशका विभिन्न जातजातिमध्ये मगरको एउटा बृहत र गर्विलो इतिहास छ । हामीले त्यसको रक्षागर्दै समग्र मगर समूदायको समृद्धिका लागि यो अभियानमा सबै दाजुभाई दिदीबहिनीलाई जोडिन आग्रह गर्दर्छौ ।”– अध्यक्ष पुनले भने । संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै सरकारले सांस्कृतिक अभिलेखीकरणको अभियान सुरु गर्नु पर्ने संघको माग छ । संघले संंस्कृति जाति भन्दा माथि उठेको विषय भएकाले यसलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिदैं आएको छ ।