सुर्खेत। उच्च अदालत सुर्खेतले मुसिकोट नगरपालिकामा पुनः मतगणना गर्नु नपर्ने फैसला गरेको छ। मुसिकोट नगरपालिकाका मेयरका प्रत्याशी माओवादी केन्द्रका वसन्त कुमार शर्मासहित दुईवटा वडा अध्यक्षका प्रत्याशीले पुनः मतगणनाको माग सहित दायर गरेको मुद्दामा यस्तो फैसला गरेको हो ।
पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मा लगायत वडा नं १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नं १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुनस् मतगणनाको मागसहित दायर गरेको मुद्दामा दाबी नपुगेको भन्दै पुनः मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो ।
तीनै जना प्रत्याशीहरूले गत जेठ १२ गते पुनस् मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा १३ मतान्तरले नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका थिए । केसीले ६९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले ६९०१ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा कांग्रेसका ज्ञानुचन्द्र चन्द र वडा नं १४ मा कांग्रेसकै गोवर्धन वली विजयी भएका थिए ।