काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनाधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ ।
काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख, ‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’
यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो । काठमाडौं महानगरका मेयर स्वतन्त्र रहेकाले सरकारले उनलाई सहयोग नगरेको आरोप लागेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएसँगै महानगरले गृहको सहयोग मागेको हो ।