रेशम चौधरी दोषी ठहरिएको टीकापुर हत्याकाण्ड के हो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

रेशम चौधरी दोषी ठहरिएको टीकापुर हत्याकाण्ड के हो

resham chaudhari

काठमाडौं, २६ मंसिर । रेशम चौधरी चर्चामा छन् । उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा तीन सिट जितेको छ । उनका पिताले स्वतन्त्र उम्मेदवार बनेर बर्दियाबाट चुनाव जितेका छन् ।

रेशमले २०७४ को चुनाव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेका थिए । तर, टीकापुर घटनाको आरोपी भएकाले जेल गए । उनी सपथका लागि एक दिन जेलबाट छुटाएर लगिए । पूरा कार्यकाल जेलमै निलम्बित सांसदका रुपमा बिताए ।

जेलमै रहँदा रेशमले नागरिक उन्मुक्ति पार्टी स्थापना गराए । पत्नी रञ्जना श्रेष्ठलाई अध्यक्ष बनाए । स्थानीय चुनावमा उक्त दलले कैलाली र थारु बाहुल्य क्षेत्रमा केही सफलता हासिल गर्न सक्यो । कैलालीको दुई नगरपालिका र दुई गाउँपालिकामा जित हासिल गर्यो । प्रतिनिधि सभा र प्रदेशसभामा पनि केही सफलता हासिल गर्न सक्यो । कैलालीको तीन क्षेत्रमा रेशमको दलले जित्यो । बर्दियामा स्वतन्त्र भनिएका लालवीर चौधरी पनि उनकै पिता हुन् । रेशम चौधरीको उम्मेदवारी अस्वीकृत भएपछि लालवीर चुनावी मैदानमा आएर जितेका थिए ।

रेशम चौधरीको चार सिटका कारण सत्ताको जोडघटाउमा उनी महत्वपूर्ण शक्ति बनेका छन् । यसकारण सत्ताको सिटका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशमलाई छुटाउन अध्यादेश ल्याएको छ । यसले राजनीतिकवृत्तमा हलचल नै ल्याएको छ । रेशमको शर्त मानेर सरकार निर्माणमा साथ पाउने गरी देउवा सरकारले नयाँ चाल चलेको देखिन्छ । तर, रेशममाथि ७ प्रहरी र २ वर्षको बालकसहित ८ जनाको हत्या भएको टीकापुर घटनाको आरोप छ । उनीसहित थरुहट आन्दोलनका कतिपय नेता आरोप पुष्टि भएपछि जेलमा छन् ।

के हो टीकापुर घटना

घटनामा दुई वर्षका बालकको पनि ज्यान गयो । संविधान निर्माण भइरहँदा २०७२ मा सुदूरपश्चिम प्रदेशमा थरुहट र अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन चल्यो । थारु समुदायले कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश माग गर्दै आन्दोलन गरे । अर्कातर्फ अखण्ड सुदूरपश्चिमको माग चल्यो । यसले जातीय हिंसाको खतरा बढ्यो ।

थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेश लेखेर टाँस्न खोजे । बोर्ड राख्न खोज्ने थारु समुदाय र अखण्ड सुदूरपश्चिम पक्षधरबीच द्वन्द्वको अवस्था बन्यो । थरुहट पक्षधर आन्दोलनकारी टीकापुर पस्न खोजेको सूचनाका आधारमा सेती अञ्चल प्रहरीका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वको टोली सुरक्षाका लागि खटिएको थियो । भीड हतियारसहित शहर पसेको थियो ।

थरुहट आन्दोलनकारीले घरेलु हतियारसहित प्रहरीमाथि आक्रमण गरे । एसएसपी लक्ष्मण न्यौपानेको भीडले हत्या गर्यो । कतिपय प्रहरीको क्रुरतापूर्वक हत्या भयो । ज्युँदै जलाउने सम्मको गतिविधि भए । दूधे बालक समेतको हत्या भयो ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको यो विभत्स हत्या नेपालको इतिहासमा टीकापुर हत्याकाण्डका नामले चिनिन्छ । हत्याका आरोपीहरु फरार भए । उनीहरुमध्ये रेशम चौधरी सीमापारी लुकेर बसेको विषय आइरह्यो ।

रेशम चौधरीसहित आन्दोलनकारी नेताहरुविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत कैलालीले ११ जनालाई जन्मकैदको फैसला सुनाए । बाँकी १२ जनालाई ३३ वर्ष कैद सजाय तोक्यो । उच्च अदालत दिपायलले फैसला सदर मात्र गरेन ३ वर्ष कैद सजाय भुक्तान गरेका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसा गर्यो । केहीको जन्मकैद सजाय घटायो ।

टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्दोगको मुद्दा चलाएको थियो । घटनामा अधिकांश अभियुक्त फरार भएका थिए ।
भूमिगत रहेरै चुनाव लडेका रेशम चौधरीले कैलालीबाट जिते । चुनाव जितेपछि उनी अदालतमा आत्मसमर्पण गर्न पुगे । मुद्दा फिर्ताको माग उनी चुनाव जितेको दलले गरिह्यो । फिर्ताको पहलहरु भइरहे तर भएन । अहिले भने रेशमलाई छुटाउने गरी देउवा सरकारले कदम चाल्न खोजेको छ । यो कदम विवादमा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);