काठमाडौं, २५ मंसिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ ।
आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई सच्याएर पुनः विवरण पठाउनका लागि सोमवार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।
यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताउनु भयो ।
केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उहाँले बताउनु भयो ।
उहाँले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिवार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेका उल्लेख गर्नुभयो ।