काठमाण्डौँ, ५ पुस । चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा’ रिलिज भएको छ । मंगलबार छोरा दीप्रव खरेलको जन्मदिन पारेर युट्युबमार्फत दिउँसो चार बजे रिलिज गरिएको ‘दन्तैमा’ को भिडियोलाई दर्शकले मन पराएका छन् ।
रिलिजको २४ घण्टा पनि नबित्दै गीतको भिडियोलाई युट्युबमा हेर्नेको संख्या ४२ हजार नाघिसकेको छ । भिडियोमा डान्स ग्रुप नेपाली ठिटोजको आकर्षक कोरियोग्राफी रहेको छ । भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।
‘ओई झुमा’, ‘चल बतास चल’, ‘लाईदेऊ न माया’ले जस्ता हिट गीत बजारमा ल्याएको दिक्षा क्रियशनले नै ‘दन्तैमा’लाई प्रस्तुत गरेको हो । डिपी खनालको शब्द र शंकर थापा ‘स्माईल’को संगीतलाई गायक खरेलको जादुमय स्वरले झन् सुन्दर बनाएको छ ।