काठमाडौं \ माउन्टेन टेलिभिजन् एच्डी। देशभित्र कुल २७५ सिटमा १६५ प्रत्यक्ष र ११० समानुपातिक राख्दा कुनै एक दलको बहुमतको सम्भावना कमजोर भइसकेको थियो । यसको अभ्यासपछि भएका चुनावमा कुनैपनि एक दलले बहुमत ल्याउन सकेका छैनन् । बरु धेरै दलहरु मिलेर सरकार बनाउँदा राजनीतिक अस्थिरताको खतरा देखिइरहेको छ।
कुनैपनि प्रधानमन्त्री पूरा ५ वर्ष टिक्ने सम्भावना पनि लगभग समाप्त भएको छ। चुनावी परिणामले यस्तै देखाएको छ। समानुपातिकमा दलहरुले क्लस्टरमा नाम त राखे तर को जाने को नजाने विषयले विवाद चर्किएको छ। दलहरुभित्र समानुपातिकमा पर्न लबिङ र दबाब दिने घटना विकास भएको छ।
एमालेले ३४ सिट पाएकोमा महिला १९ जना पठाउनुपर्ने भएको छ । उसले १५ जना पुरुष पठाउन पानेछ । काँग्रेसले ३२ सिट पाएकोमा २९ जना महिला पठाउनुपर्ने वाध्यतामा छ । उसले ३ जना मात्र पुरुष पठाउन पाउनेछ । काँग्रेसभित्र विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत समानुपातिकमा बसेका छन् । उनीहरुबाहेकको समानुपातिकबाट सांसद बन्ने सम्भावना कम छ । नेपाली काँग्रेसका नेता मीन विश्वकर्मा आफ्नो दलले समानुपातिकमा न्यायोचित निर्णय गर्ने दाबी गर्नुहुन्छ।