बुटवल। २०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ। तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहेका घिमिरेलाई एमालेले रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । तिलोत्तमामा मेयर हुँदा उनले गरेको कामबाट तिलोत्तमा नगर देशमै नमूना कहलिएको थियो । उनको नेतृत्वमा भएको तिलोत्तमाको विकासको मुलुकभरी नै चर्चा हुने गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि तिलोत्तमाको भ्रमण गरी तिलोत्तमाको विकासबाट मुलुकले पाठ सिक्नुपर्ने बताएका थिए । उनै घिमिरेलाई रुपन्देहीको क्षेत्र नम्बर ५ बाट एमालेले टिकट दिएपछि अहिले क्षेत्र नम्बर ५ का नागरिकमा उत्साह थपिएको छ । मेयरका उम्मेदवार घिमिरेले आफूलाई यहाँका जनताले विश्वास गरेर जिताए क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै नमूना बनाउने बताए ।
“क्षेत्र नम्बर ५ बाट मेरो उम्मेदवारी पक्का भएको छ’, घिमिरेले भने–“अव जितका लागि तयारी गर्दै छु ।” यो निर्वाचन क्षेत्रबाट यसअघि खिमलाल भट्टाई उम्मेदवार बन्न्े चर्चा थियो । उनी एमालेबाट राष्टियसभाका प्रमुख सचेतक भएकाले एमालेले टिकट नदिएको बताइएको छ । राष्टियसभामा उनको कार्यकाल अझै १६ महिना बाँकी छ।