सरस्वती गिरी
जाजरकोट, १८ फाल्गुन ।
केही बर्ष अघि सम्म तरकारी आयात गर्ने जाजरकोट अहिले निर्यात गर्ने जिल्ला बनेको छ । जिल्लामा किसानहरुले ब्यबसायिक तरकारी खेति थालेपछि जाजरकोटबाट तरकारी निर्यात शुरु भएको हो । यतिबेला जाजरकोटले तरकारीमा आत्पनिर्भर जिल्लाको परिचय बनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय र अन्य संघ संस्थाले तरकारी खेतीको लागी किसानहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम संचालन गरेपछि मौषमी तथा बेमौषमी तरकारी खेतीबाट जिल्ला आत्मनिर्भर बनेको हो । परम्परागत खेतिबाट जीवन गुजरा नचलेपछि किसानले तरकारी खेति शुरु गरेका हुन । तरकारी खेतिबाट राम्रो आम्दानी हुने किसानको भनाई छ ।
जिल्लाको ८ सय २५ हेक्टर क्षेत्रफलमा किसानले ब्यबसायिक तरकारी खेति गर्ने गरेका छन । अहिले किसानले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालेका छन । तरकारी खेतिका लागि बिभिन्न स्थानमा पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम संचालन गरिएको छ । जिल्लाको उत्पादित तरकारी जिल्ला बाहिर निर्यात गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक सहायक लालबहादुर खत्रीले बताउनु भयो ।
जिल्लाका ९२ प्रतिशत जनसंख्या कृषि पेसामा आश्रित छ । अधिकांस किसानको जीवन निर्बाहको आधार नै कृषि पेशा हो । कृषिमा आधुनिकिकरण बिबिधिकरण बढेपछि किसानहरु खुशि भएका छन । परम्परागत खेतिबाट भन्दा तरकारीबाट आम्दानी राम्रो हुने भएपछिे तरकारी खेतिमा आर्कषण बढेको किसानहरुको अनुभब छ ।
जिल्लाका करिब पाँच सय जति किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन । तरकारी खेति गरेर कृषकले बार्षिक २ लाख देखि १० लाख भन्दा बढि आम्दानी गर्ने गरेका छन । दुखजिलो जीवन ब्यतित गर्ने जाजरकोटका किसानहरुका लागि तरकारी खेति उत्तम बिकल्प बनेको छ ।