अर्घाखाँची । अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् ।
गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक नेकपा एमालेका उम्मेदवारले पराजित गरे । पालिका अध्यक्षमा दोहोरिन चाहेका अच्युत र लक्ष्मीलाई एमालेका उम्मेदवार टेकराज न्यौपाने र नर्मदा पौडेलले पराजित गरेका हुन् ।
भूमिकास्थान मेयरमा एक कार्यकाल पुरा गरी एमालेबाट पुन: मेयरको दौडमा रहेका रेशम थापालाई राष्टिय जनमोर्चाका झविलाल थापाले पराजित गर्दा शितगंगा नगरपालिकाका उपमेयरमा माओवादी केन्द्रबाट दोहोरिन चाहेका टिका रेश्मीलाई एमालेका तर्फबाट उम्मेदवार बनेकी टीका भाटले स्तव्ध पारिन् । पालिका नेतृत्वमा दोहोरिन चाहेका सबैलाई परास्त गर्दै अर्घाखाँचीमा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् ।