काठमाडौँ, ५ मंसिर । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ। केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन्। उनी आसन्न निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवार होइनन् तैपनि उम्मेदवारभन्दा व्यस्त छन्। उनलाई पार्टी (एमाले) ले मूल निर्वाचन परिचालन कमिटीको प्रवक्ताको जिम्मेवारी दिएपछि व्यस्तता ह्वात्तै बढेको हो।
‘अहिले पहिलेझैं रुटिङमा चल्दैन जिन्दगी,’ रिमालले पछिल्लो व्यस्तताका विषयमा कुरा गर्दै भने, ‘बिहान उठेदेखि अनगिन्ती फोन, जिल्ला-जिल्लाका निर्वाचन परिचालनको समन्वय, दैनन्दिन बनाउनुपर्ने कार्यक्रमले खाना खाने, सुत्नेसम्मको समय बदलिएको छ।’
उनी अहिले हरेक दिन बिहानै ८ बजे नै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय पुगिसकेका हुन्छन्। ‘बेलुकी कति बेला घर पुग्ने ठेगानै हुन्न,’ उनले भने। एमालेमा समग्र निर्वाचन परिचालनका लागि पार्टी अध्यक्ष केपी ओली आफैंले जिम्मेवारी लिएका छन्। उनको कार्यव्यस्तता र आफैं झापा ५ को उम्मेदवारसमेत रहेकाले रिमाललाई कार्यभार थपिएको हो। क्रमशः माओवादी नेता रामबहादुर थापा, कांग्रेस नेता बालकृष्ण खाँड, एमाले नेता बिष्णु रिमाल।
उनीलगायत एमाले अनुशासन विभाग संयोजक अमृत बोहोरा, मुकुन्द न्यौपाने, अग्नि खरेल, डा. पुष्पराज कँडेललगायत नेता निर्वाचन परिचालनको काममा व्यस्त छन्। एमालेका विष्णु रिमाल, कांग्रेसका बालकृष्ण खाँण, माओवादीका रामबहादुर थापालगायत नेता उम्मेदवार नभए पनि सबैभन्दा बढी व्यस्त देखिएका छन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट