युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह  | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८०, बुधवार

युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ । 

‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपालीहरुको अवस्था बुझ्न पन्त अहिले युक्रेन र पोल्याण्डको सीमा–नाका मेडिकामा पुगेका छन् । सीमामा कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको समेत उनले जनाएका छन् । 

‘यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु,’ अध्यक्ष पन्तले भने ।  सोमबार सिमानामा रहेका नेपालीमध्ये करिब ५० प्रतिशत लाई रेल र बस मार्फत गन्तव्यतर्फ पठाइएको उनले बताएका छन् । 

‘अहिले मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा म सक्रिय रुपमा लागिरहेको छु । यहाँहरु सबैको रचनात्मक सहयोगको अपेक्षासहित समस्यामा रहनुभएकाहरुको सक्दो चाँडो उद्धार हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् । 

Leave a Reply