मस्को । पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या निरन्तर बढिरहेको छ । यहाँ संक्रमितको संख्या दुई करोड नाघ्ने अनुमान गरिएको छ । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभरका संक्रमितमध्ये २० प्रतिशत संक्रमित यहाँ छन् ।
पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । पूर्वी युरोपमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा खोप अनिवार्य गरिएको छ ।
पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् । रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।
पूर्वी युरोपमा खोप नलगाउने जमात पनि बढ्दो छ । सबैभन्दा धेरै हंगेरीका मानिसहरुले खोप लगाउन अनिच्छा देखाएका छन् । हंगेरीमा जम्मा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । युरोपेली देशमा नयाँ संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार नयाँ संक्रमित भेटिएका छन् । यसैबीच, युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा जनाइएको छ ।