एजेन्सी । कोभिड संक्रमण पुनः फैलिएपछि युराेपका विभिन्न देशले प्रतिबन्धात्मक व्यवस्था लागू गरेसँगै ती देशहरूमा सरकारविरोधी तीव्र प्रदर्शन भएका छन् । सरकारले लगाएको प्रतिबन्धविरुद्ध स्वीट्जरल्यान्ड, क्रोयसिया, इटाली, उत्तरी आयरल्यान्ड र नेदरल्यान्ड्समा सरकारविरोधी प्रदर्शन भएका हुन् ।
अस्ट्रियामा देशव्यापी लकडाउन घोषणा भएपछि राजधानी भियनालगायतका सहरहरूमा प्रदर्शन भएका छन् । खोप नलगाएका व्यक्तिलाई भिड हुने क्षेत्रमा जान रोक लगाएपछि सर्वसाधारण नागरिक आक्रोशित भएका छन् ।
नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन् । इटालीमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा सर्वसाधारण नागरिक प्रदर्शनमा उत्रिएका छन् । सरकारले खोप नलगाएका व्यक्तिलाई रेस्टुराँ, खेल मैदान, सिनेमा, रेल, जिम हललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
त्यस्तै, क्रोएसियामा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा दशौं हजार मानिस सडकमा उत्रिएका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले युरोपमा बढेको कोभिडबाट आफू चिन्तित भएको जनाएको छ ।