काठमाडौं । बाँकेमा घरेलु हिंसाद्धारा मारिएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार पैदल नेपालगञ्जदेखि काठमाडौंसम्म आएर धर्नामा बसेको छ ।
बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।
पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना सुरु गरेको छ ।
बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकीना तेलीको दावी छ ।
स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको उनले बताए ।पीडित परिवारले आफुहरुको माग पुरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।