बुटवल-नारायणगढ सडकमा यात्रा गर्नै सकस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

बुटवल-नारायणगढ सडकमा यात्रा गर्नै सकस

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारमा भैरहेको ढिलासुस्तीले यात्रुहरूको आवागमन कष्टकर बनेको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुनुका साथै खाल्डाखुल्डीका कारण यो सडक भएर यात्रा गर्ने यात्रुले सास्ती पाएका हुन् । दसैं सुरु भइसक्दा पनि यो सडकखण्ड भएर हिँड्ने यात्रु र सवारीसाधन बढेका छन् ।

बुटवल-नारायणगढ सडकखण्डको एक सय १३ किलोमिटर क्षेत्रमा नौवटा ठूला पुल र एक सय १६ वटा कल्भर्ट बनाउन भत्काएर लथालिंग पारिएको छ । सानो पानी आउँदा पनि पुल र कल्भर्टबाट बग्ने पानी सडकमा आउँछ । जसकारण घन्टौं सडक बन्द हुने गरेको छ ।

१६ अर्ब ९९ करोड रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ पुसमा बुटवल-नारायणगढ सडक विस्तारको ठेक्का लिएको थियो । दुई लेनको सडक बजार क्षेत्रमा ६, अन्यत्र चार र दाउन्नेको उकालोमा तीन लेनमा विस्तार गरी तीन वर्ष ६ महिनामा सक्नुपर्ने काम दुई वर्ष नौ महिना पुग्दा साढे ९ प्रतिशत मात्रै सकिएको छ । बाँकी ९० प्रतिशत काम कहिले सकिने हो टुंगो छैन । नारायणगढ खण्ड र बुटवल खण्ड गरी दुईतिरबाट विस्तार थालिएको सडकमा ठेकेदारले एक ठाउँमा पूरा गर्नुको साटो जताततै भत्काएर लथालिंग पारेको छ । 

सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जंगल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ ।

सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ-बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउँछन् । ‘सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ,’ लामिछानेले भने, ‘झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पु-याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पु¥याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ ।’ 

सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारीसाधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन् । मध्यविन्दुबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारीसाधन चाँडै बिग्रिने गरेको गुनासो गरे ।

नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड-१ मा रहेका सबै खाल्डाखुल्डी अब छिट्टै पुरेर सकिने बताए । निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरूले भनेअनुसार काम गरेको बताए ।

मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने सूचना अधिकारी आचार्यको भनाइ छ । काममा ढिलासुस्ती भइरहेको अवस्थामा पछिल्लो वर्ष कोभिड पनि बहाना बनेको छ । 

नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म करिब ८ प्रतिशत काम भएको बताए ।

सडकको कुल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

२२ साउन ०७९ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको ४२ महिनामा सक्ने गरी ०७५ चैतमा शिलान्यास भएको हो । तर, सडक विस्तारको काममा सरकारी निकायहरूबीच समन्वय हुँदा समयमै सुरु हुन सकेको थिएन । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);